दसैंको मुखमा खडेरी प्रभावित परिवारले पाए राहत

| 2018 Oct 14 | 02:30 pm 1844

फिदिम, असोज २८ : लामो समयसम्म पानी नपरी खडेरी लागेर किसानले लगाएका सबै बाली सुकेपछि पीडित बनेका प्रदेश नं १ का तीन जिल्लाका कृषकहरुले राहत पाउने भएका छन् ।

प्रदेश नम्बर १ अन्तर्गतका जिल्लाहरुमा पाँचथर, तेह्रथुम र धनकुटाका सात स्थानीय तहका खडेरी प्रभावित तीन हजार ७८१ कृषक परिवारलाई राहत वितरण गर्न थालिएको हो ।

गत असोज २२ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले खडेरी प्रभावित कृषकलाई राहत उपलब्ध गराउने निर्णय भएको थियो । निर्णयअनुसार प्रभावित क्षेत्रहरुमध्ये पाँचथरको तुम्बेवा गाउँपालिकाका ७६९, कुम्मायक गाउँपालिकाका ३११, तेह्रथुमको छथर गाउँपालिकाका ८४५, म्याङलुङ नगरपालिकाका २०४, आठराई गाउँपालिकाका ४८६, फेदाप गाउँपालिकाका ६३५ र धनकुटाको चौबिसकोट गाउँपालिकाका ५३१ परिवारले राहत पाउने भएको प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिएका छन् ।

मन्त्रिपरिषद् बैठकले खडेरी प्रभावित कृषकलाई तत्कालीन राहतका लागि प्रति परिवार सात हजार ५०० का दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । उक्त रकमको ३० प्रतिशत हिस्सा भने स्थानीय तहले व्यहोर्नुपर्ने व्यवस्था मन्त्रालयले गराएको हो । प्रदेश सरकारले ७० प्रतिशत हिस्सामा पर्ने पाँच हजार ७०० स्थानीय तहलाई रकम निकासा गर्न लागेको मन्त्री आङ्बोले जानकारी दिए ।

प्रदेश सरकारको घोषणाबमोजिम खडेरीबाट अति प्रभावित पाँचथरको तुम्बेवा गाउँपालिकामा राहत वितरण शुरु गर्न थालिएको छ । नेपालीको महान चाड बडादसैं नजिकिदै गएका बेला तुम्बेवाका स्थानीयवासीलाई गाउँपालिकाले प्रदेश सरकारको निर्णयअनुसारको राहत उपलब्ध गराउन थालेको हो ।

स्थानीय ३३४ परिवारलाई पाँच हजार ७०० का दरले राहत वितरण गरिएको गाउँपालिका प्रमुख होमनाथ थापाले जानकारी दिए । प्रदेश सरकारले चाँडै राहत रकम निकासा हुने जानकारी गराएकाले सम्बन्धित गाउँपालिकाकै बजेटबाट राहत वितरण गर्न थालिएको थापाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.