दसैं–तिहार नजिकिएसँगै सडक टालटुल गर्ने चलन

रिपोर्ट नेपाल | 2019 Sep 23 | 07:50 am 2038

धादिङ, असाेज ६: दसैं–तिहार नजिकिँदै गर्दा। विभिन्न कामले राजधानी काठमाडौं बस्दै आएका मानिसलाई वर्ष दिनमा आउने पर्व मनाउन पुर्खेयाैली घर फर्कन हतारो छ। राजधानी काठमाडौंबाट बाहिरिने र त्यहाँ छिर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकखण्ड वर्षौंदेखि जीर्ण छ। जीर्ण सडक हरेक चाडपर्वलाई लक्षित गर्दै हतार–हतारमा टालटुल गरेर चिटिक्क बनाइन्छ, जुन धेरै समय टिक्दैन।

हतार–हतारमा यो सडक टालटुल गर्ने क्रम यस वर्ष पनि दोहोरिएको छ। बिग्रिएको यो सडक हतार–हतारमा कालोपत्रे हालेर टालटुल गरिँदैछ। नोबिसै भएर काठमाडौं पस्ने देब्रे लेन ठाउँठाउँमा खाडल पर्दा निकै जीर्ण छ। मालवाहक हेभी गाडी यही लेन भएर काठमाडौं छिर्छन्। हेभी गाडीको चाप थेग्न नसकेपछि सडकको यो लेन ठाउँठाउँमा धसिँदा खाल्डा बनेका हुन्।

चाँडचाँडै बिग्रिने यो सडकखण्डलाई अन्य समयमा बेवास्ता गरे पनि दसैं–तिहारका बेला भने टालटुल गरिन्छ। टालटुल गर्ने प्रचलन नौलो होइन। गत वर्ष पनि दसैं आउनुपूर्व खाल्डाखुल्डी पुरिएको थियो। यो वर्ष पनि त्यस्तै भइरहेको छ।

सडक ठाउँठाउँमा खाल्डाखुल्डीमात्रै नभएर कुलोजस्तै बनेको छ। पानी परेका बेला सवारीसाधन फस्ने गरेका छन्। उकालो बाटोमा बढी भार लिएर राजधानी प्रवेश गर्ने गाडी बिग्रिएपछि लामो समयसम्म जाम हुने गरेको छ।

साँघुरो बाटो भएकाले एम्बुलेन्ससमेत जाममा पर्ने गरेका छन्। धादिङको नौबिसेदेखि काठमाडौंको नागढुङ्गासम्मकै सडक बिग्रिएर कहालीलाग्दो अवस्था छ। तर बढी खाल्डाखुल्डी भएको ठाउँ पुरेर टालटुले पाराले कालोपत्रे हालिएको छ।

सानासाना खाल्डामा सरोकारवाला निकायको ध्यान अझै जान सकेको छैन। सवारीसाधन रोकेर सडक मर्मत गर्दा पट्यारलाग्दो जाम हुन्छ। जीर्ण सडक र जामले आधा घण्टामा पार गर्न सकिने नागढुंगा–नौबिसे खण्ड छिचोल्न दिनभरिजस्तो लाग्न थालेको छ। नागरिक न्युज दैनिकमा प्रकाशित

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.