दशैंमा पनि भत्ता पाएनन् ज्येष्ठ नागरिकले

रिपोर्ट नेपाल | 2018 Oct 21 | 11:53 am 2014

बाजुरा, कार्तिक ४: बाजुराको बूढीनन्दा नगरपालिकाले यस आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले दशैंमा पनि भत्ता पाएनन्। दशैंमा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले यस वर्षको दशैंमा खल्लो महसुश गरेका हुन् ।

हरेक वर्ष दशैंको बेलामा प्रथम चौमासिक भत्ता दिइने गरिएको भए पनि यस वर्ष नगरपालिकाले दशैँमा सामाजिक सुरक्षा भत्ता नदिएको कोल्टीका ज्येष्ठ नागरिक चन्द्रमान रेग्मीले बताए। स्थानीय सरकार आएपछि सामाजिक सुरक्षा भत्ता पाउन सहज होला भन्ठानेका ज्येष्ठ नागरिकले स्थानीय तहले लापरवाही गरेर ज्येष्ठ नागरिक, बालबालिका र अन्य सामाजिक सुरक्षाभत्ता पाउनेको सेवासुविधामा खेलबाड गरेको गुनासो गरेका छन्।

बूढीनन्दा नगरपालिकामा करीब एक हजार २०० ज्येष्ठ नागरिक, एकल महिला र बालबालिकाका लागि प्रतिचौमासिक करीब रु एक करोड १० लाख सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिन्छ।

बूढीनन्दा नगरपालिकाका सूचना अधिकारी रामदत्त न्यौपानेले कामको चापले हतार भएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेको बताए। प्रमुख प्रशासकीय अधिकृत ढिलो आएपछि अन्य कर्मचारीलाई समेत तलब खुवाउन समस्या भएको र ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पनि वितरण गर्न नसकिएको उनले स्वीकार गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.