दशैंको मुखमा खसीबजार हटाउन महानगरको उर्दी

रिपोर्ट नेपाल | 2022 Aug 23 | 08:28 am 1225

काठमाडौं, भदौ ७ः काठमाडौं १४ कलंकीमा रहेको खसीबजार हटाउन महानगरले जारी गरेको सूचनाको व्यावसायीले बिरोध गरेका छन् । महानगरले बिना कुनै जानकारी अचानक खसीबजार हटाउन जारी गरेको सूचना पूर्वाग्रही भएको काठमाडौं चौपाया खरिद बिक्री प्रालि.का अध्यक्ष जनककुमार खड्काले बताए ।

उनले भने, ‘महानगरले बिना कुनै जानकारी खसीबजार सार्न सूचना निकालेको रहेछ । फोहोरमैलाको कारण देखाई बजार सार्न लगाए पनि हामीले त्यस्तो फोहोर गरेका छैनौँ ।’

महानगर आई अनुगमन गर्दा सुधार गर्नै नसकिने गल्ती, कमजोरी भेटिएमा बजार सार्न तयार रहेको उनको भनाइ छ । यो कुनै एउटा व्यक्तिले सञ्चालन गरेको नभई यसमा धेरै व्यक्तिहरु जोडिएकाले महानगरले हटाउन आग्रह गर्दैमा नहटाइने खड्काले बताए ।

यस खसीबजारमा १९ वटा स्टल दर्ता भएर सञ्चालनमा रहेका छन् । काठमाडौं खरिदबिक्री चौपाया प्रालि.का अध्यक्ष खड्काका अनुसार फोहोरमैलाको कारण देखाई यो बजार सार्न सूचना निकालिए पनि वास्तविक कारण अर्कै रहेको छ ।

उनले भने, ‘चन्द्रगिरि नगरपालिकामा नयाँ खसीबजार खुलेको र उक्त खसीबजारबाट खसीहरु बिक्री नभएकाले यसलाई हटाउन पाए उक्त बजार चल्छ भनेर केही व्यक्तिहरु लागिपरेका छन् । महानगरले यस क्षेत्रको अनुगमन नै नगरी यसरी सूचना निकाल्नु सही छैन ।’

यस क्षेत्र वरिपरिका नागरिकले खसीबजारका कारण समस्या भयो भनेर अहिलेसम्म कुनै गुनासो नगरेको उनले बताए। डेढ किलोमिटर परको नागरिकले हामीलाई असर गर्यो भन्नु अचम्मको कुरा भएको खड्काले बताए ।

‘महानगरले आएर अनुगमन गर्दा केही कमजोरी गरेका रहेछौँ भने सुधार्छौ ।  १५ दिनभित्र यो खसीबजार अन्यत्र सार्न सक्दैनौँ’ उनले भने । वडा कार्यालयमा पनि पटक पटक छलफल गर्दा सार्नुपर्ने कुनै कारण नदेखिएको र निवेदन दिने पक्ष अनेक बहाना बनाएर बैठक छाडेर हिँडेकाले यो बजार हटाउ भन्नु चलखेल मात्र रहेको खड्काको दावी छ ।

आठ रोपनी जग्गामा फैलिएको यस खसीबजारमा मृत खसी बोकाहरु ‘क्लीन नेपाल’ नामक संस्थाले मासिक १५ हजारमा व्यवस्थापन गर्दैआएको छ । दशैंको मुखमा महानगरले बजार सार्न लगाउँदा विभिन्न शंका उत्पन्न भएका छन् ।

काठमाडौं महानगरले खसीबजार हटाउन भन्दै सूचना जारी गर्नुअघि काठमाडौं चौपाया खरिद बिक्री प्रालि.ले महानगरलाई “भेटघाटका लागि समय उपलब्ध गराइपाउँ” भन्दै पत्र काटेको थियो । गत साउन ९ गते काटेको पत्रमा महानगरले भेटेर छलफल गर्न कुनै चासो देखाएन ।  न अनुगमन नै गर्यो न केही कुरा सुधार्न निर्देशन नै दियो खड्काले भने ।

उपमेयरको संयोजकत्वमा रहेको न्यायिक समितिले विशेषगरी यस्ता समस्यालाई टुङ्गो लगाउनुपर्ने संवैधानिक व्यवस्था छ । तर महानगरका उपमेयर सुनिता डंगोलले यसबारे कुनै चासो नदेखाएको प्रालि.को आरोप छ ।

२३ वर्ष अघिदेखि यो खसीबजार सञ्चालनमा आएको हो । यो जग्गा पनि निजी भएको र महानगरले छाडा चौपायाका कारण समस्या उत्पन्न भएको भन्दै १५ दिनमा खसीबजार हटाउन सूचना जारी गरेको छ । खसी, बोका छाडा पशुचौपाया नभएकाले यो सूचना नै गलत रहेको प्रालि.का अधिकारीहरुको भनाइ छ ।

महानगरले सरकारी जग्गामा रहेको टुकुचाको खसीबजारलाई केही नभन्ने तर अहिले अचानक यो खसीबजारलाई विनाकारण हटाउ भन्नुले मिलेमतोको शंका उब्जाएको प्रालि.को गुनासो छ ।

उपत्यकामा खपत हुने खसीबोकामध्ये करिब ६० प्रतिशत आपूर्ति यही खसीबजारबाट हुनेगरेको प्रालि.ले जनाएको छ । महानगरलाई लेखेको पत्रमा महानगरका आमउपभोक्ताको मागको करिब ६० प्रतिशत आपूर्ति यही बजारबाट हुनेगरेको उल्लेख छ । यस बजारमा देशका करिब ३५ जिल्लाबाट खसी, बोका, भेडा, च्यांग्रा ल्याइने गरिएको छ ।

खसीबजार वरपरका स्थानीयले भने खसीबजारले खासै सास्या नभएको बताएका छन् । खसीबजारबाट निस्केको मलमुत्र तथा घाँसपात व्यवस्थापन गर्न कामदारको व्यवस्था पनि भएकाले त्यति बढी फोहोर नभएको स्थानीयहरु बताउँछन् ।

पुस्पा पौडेल चार वर्ष भयो खसीबजामा बस्न थालेको । तर उनलाई खसीबजारका कारण खासै समस्या नभएको बताए । उनले भने, ‘यहाँ बस्न थालेको चार वर्ष भयो तर अहिलेसम्म यो खसीबजारका कारण त्यस्तो केही समस्या भएको छैन । खसीहरु बाँधेर राख्नुहुन्छ । फोहोरमैला पनि त्यती छैन ।’

यस्तै, अर्की सुमना थापालाई पनि यहाँ व्यापार गर्न लागेको तीन वर्ष भयो । उनलाई पनि यहाँको बजारले खासै समस्या पारेको छैन । उनी भन्छिन्, ‘छिमेकमा त्यस्तो फोहोर पनि भएको छैन । खसी, बोकाको आवाज त आउँछ । तर ठूलो हल्ला हुन्न ।’ गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.