दश दिने मौन वर्त र मेरो अनुभव

| 2023 Apr 17 | 03:48 pm 2717

  • त्रैलोक्य प्रताप सेन

२०७९ चैत २२ गते मेरो फोनको स्विच झ्याप्प बन्द भयो।अनि वि.सं.२०८०,बैशाख ३ गते खुल्यो।
यो बिचमा अनगिन्ती ईष्टमित्रका फोन आए होलान्। कसै कसैले त लख काटे होलान् पक्कै सेन समुन्द्र पारीको देशतर्फ हान्निएको होला ? तर, यथार्थ अर्कै थियो । ललितपुरको लामाटारलाई आफ्नो काखमा राखेर अग्लिएको डाँडो कोटडाँडाको चुलीमा घना जंगलको बिचमा थिएँ म १२ दिन।

May be an image of 12 people and tree

छिमेकी बहिनी सरिना श्रेष्ठले भन्नु भयो, दाई एउटा सिट खाली भयो कसैले क्यान्सिल गरेछन् हजुर जाने हो ? भनेर सोधेपछि म पनि हौसिदै ल जाने भनेर हिडिहालियो। यसरी, कोटडाँडाको विपश्यना साधना शिविर केन्द्र पुगियो। विपश्यना एक प्राचिन साधना विधि हो। लोप भईसकेको यो ध्यान पद्दति लगभग २६०० बर्ष अगाडि स्वयं गौतम बुध्दले खोज गरी सिकाउनु भएको रहेछ।
जीवनको सत्यको खोजीमा राजपाटको सम्पन्नता, भौतिक सुखसयल त्यागि घनघोर जंगलमा हिंश्रक जिवजन्तुका बिच आँधि तुफानको परवाह नगरी खोज्दै हिँड्दा पनि जीवनको सत्य नभेटेपछि, ठूलो वृक्षको फेदमा बसेर साधना शुरु गरी आफ्नै मन मष्तिष्क भित्र त्यो सत्य फेला पार्नुभयो। जसलाई वोधिशत्व (बुध्दत्व) भनेर जानियो।सिध्दार्थ गौतम भगवान् बुध्द बन्नुभयो। यो स्व–निरिक्षणद्वारा मन (चित्त) र शरिर शुध्दि गर्ने साधना रहेछ।

यस दक्षिण यशियाली भूभागबाट सयौं सय बर्ष लोपप्रायः यो विद्यालाई परम्परागत तरिकाले पुस्ता हस्तान्तरण गर्दै बर्मा (हाल म्यानमार) का कवीलायी जातीले बचाई राखेको भेटे पछि महापुरुष उ वा खिनले यस्लाई पुनः समाजमा फैलाउनु भएको रहेछ। पछि उहाँका शिष्य बनेका माडवारी पुत्र सत्य नारायण गोयन्काजीले भारतमा ल्याउनु भएछ । अहिले उहाँकै महान अभियान स्वरुप विपश्यना साधना विश्वभर फैलदो छ। नेपालमा पनि देशका विभिन्न भू–भागमा फैलिरहेको छ।

१०दिन पूर्ण मौनताका साथ कठोर तप गर्नु पर्ने रहेछ। बेलुकाको छाक निराहार, बिहान एक छाक भोजन, बिहान ४ बजे देखि राती ९ः ३० सम्म पूर्णतः ध्यान। शुरुमा धेरै गाह्रो भयो। आज सम्मको अनुशासनहिन जीवन शैली, छाडा खानपानमा बिताएको जिन्दगी यसलाई नथ्थीलगाएर कब्जा (नियन्त्रण) मा ल्याउनु कम कठिन भएन। सातौं दिन देखि त अलौकिक आनन्दानुभूति हुन थाल्यो। यसरी जाँदाआउँदा २ दिन सहित १२औं दिनमा लामाटार घर फर्के।

कोटडाँडाको वातावरण उत्तिकै स्वच्छ, सुन्दर र शान्त। पूर्व दक्षिण फैलदै गएको घनघोर जंगल। बाघ, भालु पनि होलान जस्तो। मलाई अझै थप नीजि आनन्द कसरी पनि आयो भने यहाँका रुख वृक्ष, वोट विरुवाहरु ठ्याक्कै मेरा गुल्मी जन्मघर बाँझकटेरी, पुरकोटका जस्ता। जता हेरे नि उस्तै–चिलाउने, ढाल्ने (कटुस), अँगेरो, काफल, झ्यानो, बिलौनो, सल्लो, कोटमिरो, कोईरालो, भुईभरी उनियो, निउरो लगायतका बाक्ला बोटहरुले म आफ्नै घरै छु भन्ने महशुस गराउथ्यो। माटो समेत उस्तै पहिलो फुस्रो।

अनुशासनको सिमारेखा भित्रको बसाई र छोटै भए पनि ज्ञान प्राप्तिले फर्कदा मन फुरुरु भईरहेको छ। गुरु गोयन्काजीको भिडियोको निर्देशन प्रत्यक्षसरी लाग्थ्यो। हिन्दीको उहाँको मधुरवाणीलाई नेपाली अनुवादमा बोल्ने बोली उत्तिकै मधुर एवं कर्णप्रिय थियो। यो बोली मैले कता कता सुनेको जस्तै लागिरह्यो। कस्को ? कस्को जस्तो भन्दा भन्दै मेरा अनन्य मित्र भरत पौडेलजीको जस्तै ठ्याक्कै । मेरो कोठाको पार्टनर युवा सन्दिप बुढाथोकी ज्यादै सुसंस्कृत, शालीन र सभ्य युवा हेटौंडा निवासी केमिकल ईन्जिनियरका विद्यार्थी। पल्लो कोठामा बस्ने तिक्ष्णबुध्दिका युवा अधिवक्ता विष्णु पौडेल गुल्मी रिडीकै अनि अर्का किर्तिपुरे सुविन श्रेष्ठ ।वहुआयामिक सम्भावनाको व्यक्तित्व देखिने अधिवक्ता विराट जोशी पल्लो घरकुलीमा बस्ने। अनिश थापा, निरज सिटौला, यतिको टोली मौनतामा पनि मेरो कोठामा जम्मा हुनै पर्ने।
१०औं दिनमा बोली फुटेपछिको मिटिङ बिर्सिनसक्नु थियो।

यो ५६औं समुहरे हाम्रो। महिला पुरुष अलग अलग बसाई, साधना हलमा सामुहिक ध्यान।
यसरी, यौटा रम्य वातावरणमा शिविर सकेर फर्कदा के हराए जस्तो, कस्तो कस्तो भईरहेछ। सायद मनको अलिकति भाग यही छुट्यो। यति गरिसक्दा एउटा क्षतिपूर्ति हुन नसक्ने पछुतो बोकेर फर्के म ढिलो गरिएछ, छिटो लक्का जवान उमेरमा गर्नुपर्ने थियो, ढिलो भएछ । तैपनि, खुशि छु गरियो त ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.