दलित समुदाय मिलेर आफ्नै मन्दिर निर्माण

रिपोर्ट नेपाल | 2021 Mar 30 | 09:46 am 2173

गाेरखा, चैत १७ः मन्दिर भित्रै गएर भगवानको मुर्तिमा पूजा गर्ने गोरखा नगरपालिका–५ की शान्ति मग्रातीको रहर अब पूरा भएको छ। मन्दिरभित्रै गएर पूजा गर्ने रहरले स्थानीय दलित समुदायले आफैं मिलेर मन्दिर निर्माण गरेपछि उनीजस्तै यहाँका दलित समुदायले पनि पूजा गर्ने रहर पूरा हुने भएको हो।

अहिलेसम्म उनीहरू विभिन्न मन्दिरमा पूजा गर्दा बाहिरबाट मात्रै गर्नुपर्ने बाध्यता थियो। ‘दलित भएर पनि मन्दिरभित्रै गएर पूजा गरेकी भन्लान् भन्ने डरले हामी बाहिरबाटै पूजा गथ्र्यौं,’ शान्तिले भनिन्। आइतबार फागुपूर्णिमाको अवसरमा गोरखा नगरपालिका ५ मा निर्माण गरेको मन्दिर उद्घाटन गरिएको छ। ‘अब हामीले पनि मन्दिरभित्र भगवानको पूजा गर्न पाउने भयौं।’ शान्तिले भनिन्।

आफ्नै गुठी समाजले मन्दिर निर्माण गरेपछि शान्तिलाई जस्तै ७० वर्षीय रत्नकुमारी मग्राती पनि खुसी भएकी छिन्। उनलाई घर नजिकै रहेको अन्य मन्दिरमा पूजा गर्दा सहज हुँदैन्थ्यो। ‘केही भन्छन् कि भन्ने डर त भइरहन्थ्यो,’ उनले भनिन्, ‘अब हामी आफ्नै गुठीले बनाएको मन्दिरमा ढुक्कले पूजा गर्छौं।’ मन्दिर निर्माण गर्न उनका छोराले १५ हजार र पतीले तीन हजार आर्थिक सहयोग गरेका थिए।

मन्दिरको उद्घाटन गर्दै गोरखा नगरपालिकाका नगर प्रमुख राजनराज पन्तले मन्दिरको संरक्षण र दलित समुदायको सशक्तिकरणमा नगरपालिकाले सघाउने बताए। यहाँ करिब २५ घरपरिवार दलित समुदायका छन्। धनमाया मग्राती र सुकमान मग्रातीले मन्दिर निर्माण गर्न जग्गा उपलब्ध गराएका थिए। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.