कुन संसदीय समिति दलका शीर्ष नेता ?

| 2018 Aug 06 | 07:39 am 2134

काठमाडौं, साउन २१: ‘मिनी पार्लियामेन्ट’ अर्थात् संसदीय समितिहरूको बैठक आज (सोमबार)देखि शुरु हुँदैछ । विसं २०७४ फागुन २१ गते संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) दुवै सदनका पहिलो बैठक बसेका थिए । ती दुवै सदनको यही साउन १७ गते बसेको अलग–अलग बैठकले विषयगत समितिमा रहने सांसदहरूको नामावली सर्वसम्मतिले अनुमोदन गरेको थियो । यसरी अनुमोदित समितिका सदस्यहरूमा शीर्षतहका कुन–कुन नेताले कुन–कुन समितिको जिम्मेवारी पाएका छन् त ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राज्य व्यवस्था समिति, पूर्वप्रधानमन्त्री झलनाथ खनाल विकास तथा प्रविधि समिति, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई अर्थ समितिमा रहेका छन् ।

यसैगरी नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विकास तथा प्राविधिक समिति, कोषाध्यक्ष सीतादेवी यादव कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महामन्त्री डा. शशांक कोइराला र नेता विजयकुमार गच्छदार दुवै अर्थ समितिमा रहेका छन् भने नेकाका पूर्वमहामन्त्री प्रकाशमान सिंह अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा रहेका छन् ।

नेका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण र नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ कानून, न्याय तथा मानवअधिकार समितिमा बसेका छन् ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे अर्थ समिति, पूर्वसभामुख ओनसरी घर्ती कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र नेकपामा नेता भीमबहादुर रावल अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा रहेका छन् ।

यस्तै, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर अर्थ समिति, सोही पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राज्य व्यवस्था तथा सुशासन समितिको जिम्मेवारी पाएका छन् । पूर्वस्वास्थ्य मन्त्रीद्वय उमाकान्त चौधरी, खगराज अधिकारी र गगनकुमार थापा शिक्षा तथा स्वास्थ्य समितिमा रहेका छन् ।

यसरी समितिमा रहने सदस्यको नाम अनुमोदन भइसकेको छ भने समितिका सभापतिको चयन नहुञ्जेलसम्म समितिमा रहेका सांसद सदस्यमध्ये ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने अभ्यासअनुरुप अब समिति नेतृत्व ज्येष्ठ सदस्यले अगाडि बढाउने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.