दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण आइतबार सुरु हुँदै

| 2019 Dec 01 | 07:29 am 1997

काठमाडौं, मंसिर १५: दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण आइतबार सुरु हुँदै छ। नेपालले सन् २०१६ मा यो प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको थियो। नेपालले जिम्मेवारी पाएको दुई वर्षभित्र यो प्रतियोगिता आयोजना गर्नुपर्थ्यो। तर, अपर्याप्त भौतिक पूर्वाधारका कारण पटकपटक प्रतियोगिता स्थगित हुँदै आएको थियो।

चौथो पटक तोकिएको मितिमा आएर १३औं सागले साकार रूप लिने अवसर जुरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिता उद्घाटन गर्नेछिन्। १३औं सागकै लागि रंगशाला पुनर्निर्माण गरिएको हो। विनाशकारी भूकम्पले रंगशालामा समेत क्षति पुर्‍याएको थियो। त्यसयता रंगशालामा हुन लागेको यो पहिलो प्रतियोगिता हो।

सागलाई दक्षिण एसियाली क्षेत्रको ‘मिनी ओलम्पिक’ का रूपमा हेरिन्छ। यसपटक प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन्। यसअघि सागमा आठ राष्ट्रको सहभागिता रहने गरेको थियो। यो संस्करणदेखि अफगानिस्तानले सागमा भाग नलिने निर्णय गरेको छ।

यद्यपि अन्तिम समयमा आएर अफगानिस्तानले केही खेलमा भाग लिने प्रस्ताव गरेको थियो। तर, अफगानिस्तानको उक्त प्रस्ताव अस्वीकार भयो।

नेपाली खेल अधिकारीहरुले १३औं सागको सम्पूर्ण तयारी पूरा भएको बताएका छन्। युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार ९विश्वकर्मा० ले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए। ‘मंसिर १५ गते साँझ ५ बजे दशरथ रंगशालामा राष्ट्रपतिज्यूले साग समुद्घाटन गर्नुहुनेछ। यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ’, उनले भने। उनले सागमा सहभागी हुन आउने विशिष्ट पाहुना र अतिथिलाई स्वागत गर्न आफूहरू व्यग्र प्रतीक्षामा रहेको बताए।

राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव रमेशकुमार सिलवालले प्रतियोगिताको तयारी पूरा भएको बताए। उनले भौतिक संरचना निर्माणकार्य सम्पन्न भएको जानकारी दिए। विदेशी पाहुना र खेलाडीको बसोबाससम्मको सम्पूर्ण तयारी पूरा भइसकेको सिलवालले बताए।

प्रतियोगिता समापन समारोह मंसिर २४ साँझ दशरथ रंगशालामा हुनेछ। १३औं सागमा २७ वटा खेल समावेश गर्ने घोषणा गरिएको थियो। तर, प्याराग्लाइडिङमा नेपालबाहेक अन्य देशले सहभागिता नजनाएपछि खेल संख्या घटेर २६ पुगेको छ। १३औं सागका खेल नेपालका तीन सहरमा हुनेछन्। एक खेल जनकपुरमा हुनेछ भने आठवटा खेल पोखरामा खेलाइनेछ। अन्य खेल भने काठमाडौं र ललितपुरका विभिन्न स्थानमा हुनेछन्।

प्रतियोगितामा तीन सय १७ स्वर्ण, सोही संख्यामा रजत र चार सय ८१ कांस्य गरी कुल एक हजार एक सय १५ वटा पदकका लागि प्रतिस्पर्धा हुनेछ। खेलसंख्या र पदकसंख्याका आधारमा यो हालसम्मकै सबैभन्दा बृहत् साग हो।

१३औं सागका लागि गठित प्राविधिक समितिका संयोजक गंगाबहादुर थापामगरले सागका लागि आवश्यक प्रशिक्षक, रेफ्री, निर्णायक, पदक, खेलस्थल, खेल सञ्चालनको समय, उच्चस्तरीय प्राविधिक डेलिगेट्सको व्यवस्थापन, खेल तालिकालगायत सम्पूर्ण तयारी पूरा भएको बताए। उनले सागमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई हजार ३५ जना प्राविधिक जनशक्ति सक्रिय रहने जानकारी दिए।

१३औं सागका लागि सुरक्षा व्यवस्था पनि कडा पारिने भएको छ। सागका लागि गठित सुरक्षा समितिका संयोजक एवं नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले सागको सुरक्षा व्यवस्थामा कमजोरी नहुने दाबी गरे। खनालले सागका लागि १८ हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिने बताए। ‘सागका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहितको सुरक्षा टोली खडा गरिएको छ।

ट्राफिक व्यवस्थापनलगायत विशिष्ट पाहुनाको सुरक्षामा हामी कुनै कमजोरी हुन दिने छैनौं,’ महानिरीक्षक खनालले भने। उनले खेलाडी र पाहुनाका लागि विमानस्थल, समारोह र खेलस्थल, आवास, सपिङ मल, सवारीमार्ग, पार्किङस्थललगायतका ठाउँमा विशेष सुरक्षा प्रदान गरिने जानकारी दिए।

यसपटक सागमा फुटबल, क्रिकेट, भलिबल र बास्केटबल खेलमा दर्शकका लागि शुल्कको व्यवस्था गरिएको छ। अन्य खेल भने दर्शकका लागि निःशुल्क गरिएको छ। पहिलोपटक दशरथ रंगशालामा दर्शकलाई सिट नम्बरसहितको टिकटको व्यवस्था गरिएको राखेपले जनाएको छ। दर्शकले टिकट लिन फोटोसहितको परिचयपत्र अनिवार्य देखाउनुपर्नेछ।

दशरथ रंगशालाको क्षमता १५ हजार नौ सय भए पनि सुरक्षालाई ध्यानमा राखी १४ हजार टिकट मात्र बिक्री गरिने बताइएको छ। काठमाडौंको ट्राफिक चापलाई दृष्टिगत गरी सागको उद्घाटनका दिन मंसिर १५ गते बिजोर र समापनका दिन मंसिर २४ गते जोर नम्बरको गाडी मात्र चलाउन पाउने व्यवस्था गरिएको छ। नेपालले यसपटक सागमा ऐतिहासिक सफलता हासिल गर्ने लक्ष्य राखेको छ। राखेप सदस्यसचिव सिलवालले १३औं सागमा कम्तीमा ५० वटा स्वर्ण पदक जित्ने दाबी गरेका छन्। अन्नपूर्ण पोष्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.