काठमाडौं, माघ २७: सोमबार राति अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलमा आगलागी भएको छ।
विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलतर्फ रहेको एउटा कफी सपबाट आगलागी सुरु भएको बताइएको हो।
अहिले नगर प्रहरीको दमकल पुगेर नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
आगलागीपछि विमानस्थलको धावनमार्गसम्म बाक्लो धुवाँको मुस्लो निस्किएको छ। आगो कफिसप नजिकको यात्रु प्रतिक्षालयसम्म पुगेको जनाइएको छ।
आगो निभाउन सेना नेपाल प्रहरी सशस्त्र प्रहरी सहित विमानस्थलमा रहेका दमकल जुटेका छन् ।
आगालागीका कारण काठमाडौं अवतरण हुनुपर्ने चाइना साउर्दन,सिल्क एयर, हिमालय एयरलाइन्स र नेपाल वायु सेवाको निगमसहित चारवटा जहाज सिमरामाथिको आकाशमा होल्ड गरिएको छ।
काठमाडौं र ललितपुरका बारुणयन्त्र पनि त्यहाँ पुगि सकेको र नियन्त्रण हुने क्रममा रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।
आगलागी भएको केही मिटरको दुरीमा कतार एयरवेजसहितका जहाजहरु उड्न तयार थिए। यसबाट अन्तराष्ट्रिय उडानहरु केहीबेरका लागि प्रभावित भएका छन्।