तेस्रो लहर मत्थर बन्दै, जनजीवन सामान्यीकरणतर्फ

रिपोर्ट नेपाल | 2022 Feb 20 | 07:41 am 2281

काठमाडौं, फागुन ८ः कोरोनाको तेस्रो लहर सुरु भएयता शनिबार हालसम्मकै कम संक्रमण दर देखिएको छ । पछिल्लो तीन सातायता कोरोना संक्रमण दर घट्दो क्रममा छ । तर, मृत्युदर भने अझै स्थिर रहेको छ ।

शनिबार ७ हजार ९६ जनाको नमुना परीक्षण गर्दा ३ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या कोरोनाको तेस्रो लहर सुरु भएयताकै कम हो । साथै शनिबार एकै दिन १ हजार २ सय ७२ जना कोरोना संक्रमित निको भएका छन् । त्यस्तै, शुक्रबार ९ हजार नमुना परीक्षण गर्दा ४ सय ३७ जनामा कोरोना संक्रमण देखिएको थियो । बिहीबार ९ हजार ७ सय ८९ जनामा परीक्षण गर्दा ५ सय ७० जनामा संक्रमण देखिएको थियो ।

केही सातायता नेपालमा मात्र होएन दक्षिण एसियामै कोरोना संक्रमणदर ह्वात्तै घटेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण पूर्व एसियामा नयाँ संक्रमण दरमा ३२ प्रतिशतले कमी आएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार अब नयाँ भेरियन्ट नआएको खण्डमा संक्रमण दर घट्दै जाने र स्थिति सामान्य हुन सक्नेछ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कोरोना संक्रमण दर घटे पनि जोखिम भने बाँकी नै रहन्छ । स्वास्थ्य सर्तकता अपनाएर बस्नु उचित हुन्छ ।

पहिलो र दोस्रो लहरको हिसाबमा तेस्रो लहरमा कोरोना संक्रमण दर ह्वात्तै बढे पनि क्षति भने कम भएको छ । दोस्रो भेरियन्टमा डेल्टा भेरियन्टले मृत्युदर बढाएको थियो । जसका कारण जनजीवन अस्तव्यस्त बन्न पुगेको थियो । ओमिक्रोनको भेरियन्ट आएसँगै कोरोनाको तेस्रो लहरका कारण संक्रमण दर तीव्र गतिमा बढे पनि अहिले विस्तारै जनजीवन सामान्य बन्दै गइरहेको छ ।

६० प्रतिशत नागरिकले लगाए पूर्ण मात्राको खोप

नेपालका ६० प्रतिशतभन्दा धेरै नागरिकले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल जनसंख्याको ६० प्रतिशतभन्दा धेरै नागरिकले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका हुन् ।
६० दशमलव ४ प्रतिशत अर्थात् १ करोड ७६ लाख ४ हजार ५ सय २९ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै, कुल जनसंख्याको ७३ दशमलव १ प्रतिशतले कम्तीमा पहिलो मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१ सय ४२ जना आईसीयूमा १७ जना भेन्टिलेटरमा उपचाररत

कोरोना संक्रमणको तेस्रो लहरसँगै देशभर १७ जना भेन्टिलेटर र १ सय ४२ जना आईसीयूमा उपचाररत छन् । भन्टिलेटरमा उपचाररतमध्ये १४ जना काठमाडौं उपत्यकाको विभिन्न अस्पतालमा र १ जना प्रदेश १ मा र एक जना सुदूरपश्चिम प्रदेशमा उपचाररत छन् । त्यस्तै, आईसीयूमा उपचाररतमध्ये १ सय १० जना बाग्मती प्रदेशमा छन् भने प्रदेश १ मा नौ जना, मधेस प्रदेशमा २ जना उपचारत छन् । त्यस्तै, लुम्बिनी प्रदेशमा सात जना, गण्डकीमा चार जना कर्णालीमा एक जना र सुदुरपश्चिमा आठ जना आईसीयूमा उपचाररत छन् । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.