तेब्बर भाडा असुल्दै सवारी, यात्रुलाई सास्ती

रिपोर्ट नेपाल | 2018 Oct 24 | 11:51 am 2040

तेह्रथुम, कार्तिक ७: चाडपर्वको मौका छोपेर पूर्वका विभिन्‍न सडक खण्डमा चल्ने सवारीले मनपरी भाडा असुलिरहेका छन्। पूर्वको धरान–धनकुटा–तेह्रथुम, म्याङलुङ–पोक्लाबाङ–संक्रान्ति, आठराइ–फिदिमलगायत सडक खण्डमा गुड्ने गाडीले मनपरी रूपमा भाडा लिइरहेका छन्। चाडबाडका बेला सहज आवतजावत हुने वातावरण बनाइनुपर्ने भए पनि यात्रुले सडक र सवारीमा अत्यन्तै धेरै सास्ती व्यहोर्न बाध्य भएका छन्।

धरानबाट तेह्रथुमको म्याङलुङसम्म चल्ने साना जिप, बोलेरो, ट्याक्सीलगायत सवारीले निर्धारितभन्दा दोब्बर बढीसम्म भाडा लिइरहेका छन् । व्यवसायीले आफूहरूलाई टिकटसमेत नदिएका यात्रुले बताएका छन् । धरान–तेह्रथुम खण्डमा यसअघि प्रतिव्यक्ति रु ५०० भाडा लिने गाडीले अहिले रु एक हजारसम्म भाडा लिएर सवारी चलाइरहेका छन् ।

दशैँ बित्न लाग्दा चल्न थालेका बसले समेत म्याङलुङ–संक्रान्तिबजार (करीब ६५ किमी) सडक खण्डमा प्रतिव्यक्ति रु ६०० भाडा असुलिरहेको छ । आठराइ–फिदिम–इलाम–झापा सडक खण्डमा गुड्ने गाडीले समेत जथाभावी भाडा असुलेका छन् । यस्तै धरान–धनकुटा खण्डमा समेत निर्धारितदरभन्दा दोब्बर बढीसम्म भाडा लिइरहेका छन् ।

दुर्गम गाउँसम्म सडकको पुहँच त पुगेको छ । तर, चाडपर्वका बेला मौका छोपेर व्यवसायीले यात्रुसँग ठगीधन्दा चलाइरहेका छन् । रिजर्भका नाममा तेब्बर बढीसम्म भाडा लिएर यात्रुलाई ठग्ने काम भएको छ । सवारी साधनको कमी भएको भन्दै व्यवसायीले यात्रुबाट मनपरी भाडा असुल्ने गरेका छन् ।

दशैँमा बजार क्षेत्रमा व्यवसाय, काम र पढाइले बसेका घर फर्किएपछि बजार सुनसान बनेका थिए । दशैँमा सुनसान बनेका तेह्रथुमका म्याङलुङसहित जिरीखिम्ती, बसन्तपुर, सक्रान्तिबजारलगायत बजारमा मानिस र सवारीको चाप बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.