-कौरव खत्री
गुल्मी, मंसिर ६ : बाग्लुङ्गको बडिगाड गाँउपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा पर्ने तुरतरे तालमा प्रत्यक्ष दृश्य अवलोकन गरि र्याफटिङमा सयर गर्नका लागि दिनप्रतिदिन आन्तरिक पर्यटकहरुकाे संख्या वृद्धि हुदै गएको छ ।
यो ताल बडिगाड गाँउपालिका ७ र ढोरपाटन नगरपालिका १ अन्तर्गत पर्ने तुरतुरे ताल गत भाद्र २९ गते राति करिव ११ बजे तिर ठूलो पहिरो गएर बडिगाड खोला थुनेपछि प्राकृतिक रुपमै सुन्दर ताल बनेको हो ।

साथै पछिल्लो समयमा आन्तरिक पर्यटकहरु तालमा र्याफ्टिङ मार्फत सयर गरेर अवलोकन गर्नका लागि दैनिक रुपमा गुल्मी र बाग्लुङ्गका विभिन्न स्थानबाट गरि १ सय देखि २ सय जनासम्मले र्याफटिङमा सयर गरेर तालको अवलोकन र अनुभव बटुल्ने गरेको भन्दै र्याफटिङलाई दिगो रुपमा सञ्चालन गर्न गाँउपालिका र स्थानीयहरुसँग पहल भैरहेको बडिगाड गाँउपालिका ५ बाग्लुङ्गका र्याफटिङ सञ्चालक तोम जिसीले बताए ।
करिब १ किलोमिटर फैलावट र ३० देखि ३५ मिटरसम्म गहिराई रहेको तालको अवलोकन गर्नका लागि आउन थालेपछि आन्तरिक पर्यटकहरुको मोहलाई मध्यनजर गर्दै बडिगाड गाँउपालिका र स्थानीयहरुको अनुमति लिएर १० दिनका लागि परीक्षणको रुपमा तालमा र्याफटिङ सञ्चालन गरिएको सञ्चालक जिसीले बताए ।
प्रथम बडिगाड महोत्सव तथा न्वागी मेलाको प्रचार प्रसारले गर्दा पनि तालको अवलोकन गर्न पाउने भएपछि तुरतुरे तालमा र्याफ्टिङ मार्फत सयरको व्यवस्था भएपछि आन्तरिक पर्यटकहरुको संख्यामा वृद्धि आएको र्याफटिङ सञ्चालक जिसीले बताए ।

पछिल्लो समयमा ताल अवलोकन गर्नका लागि आन्तरिक पर्यटकहरुले समेत तालकै रुपमा राख्न दिएका छन् । तुरतुरे तालमा र्याफटिङ सञ्चालन हुनु स्थानीयबासीलाई मात्र नभएर सबैका लागि खुसी कुरा भएकोले यसलाई तालकै रुपमा बचाइ राख्नु पर्ने बडिगाड गापा ७ भिमगिठे बाग्लुङ्गका स्थानीय समाजसेवी टिपुरे सुनारले बताए ।
यो ताल प्राकृतिक रुपमा दिएको बरदान भन्दै र्याफटिङ मार्फत सयर गरेर अवलोकन गर्नका लागि आफू आएको र अन्य ठाँउका ताल भन्दा तुरतुरे ताल धेरै फरक र बेग्लै अनुभूति पाएको मुसिकोट नगरपालिका १ गुल्मीका आन्तरिक पर्यटक चिरन केसीले बताए ।
तालको उचित व्यवस्थापन र जोखिम न्यूनिकरण गरेर ताललाई तालकै रुपमा राखेर पर्यटन विकास गर्नसके आन्तरिक र बाह्य पर्यटकहरु भित्र्याउने र पर्यटनको विकासमा एउटा बलियो आधार तुरतुरे ताल बन्ने ताल अवलोकन गर्न आउने आन्तरिक पर्यटकहरु बताउछन् ।
तालमा आन्तरिक पर्यटकहरुको ठूलो घुइचो लाग्न थालेपछि बडिगाड गाँउपालिका र नगरपालिकाका जनप्रतिनिधिहरु पटक पटक बसेर तालका बारेमा आन्तरिक पर्यटकहरुलाई व्यवस्थित गदै पर्यटन विकास गरेर आयआर्जनमा जोड्न सकिन्छ भन्ने विषयमा बहस र छलफल भएको तर ठ्याक्कै निर्णय चाहि केही नभएको बडिगाड गाँउपालिका ७ भिमगिठे बाग्लुङ्गका वडा अध्यक्ष कृष्ण गुरुङ्गले बताए ।