तीन वर्षभित्र सबै नेपालीको घरमा विद्युतको पुर्‍याउने र चाहे जति उपलब्ध गराउने

रिपोर्ट नेपाल | 2018 Aug 19 | 05:24 pm 2648

बाठमाडौं, भदौ ३ : नेपाल सरकारको आगामी तीन वर्षभित्र आधारभूत रूपमा सबै नेपालीको घरमा विद्युतको पहुँच पुर्‍याउने र चाहे जति विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महाँसंघ, नेपाल र पुल्चोक ईन्जिनियरिङ्ग क्याम्पस बिचमा सम्झौता भएको हाे ।

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महाँसंघ, नेपालको तर्फबाट अध्यक्ष नारायण ज्ञवाली र पुल्चोक ईन्जिनियरिङ्ग क्याम्पसको तर्फबाट प्रा.डा. गोकर्ण बहादुर मोत्राले अाज सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

जसबाट कलेजले स्नातक अध्ययन पुरा गरेका विद्यार्थीहरूलाई सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महाँसंघसंग समन्वय गराउने र सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महाँसंघले विद्यार्थीहरूलाई सामुदायिक विद्युत् उपभोक्ता संस्थाको क्षमता विकासमा लगाउने विषय तय भएको छ । यसले सामुदायिक विद्युतीकरण कार्यक्रमबाट विद्युतीकरण भएको क्षेत्रमा प्राविधिक क्षमता विकास भई ग्रामीण क्षेत्रका जनतामा दिगो, गुणस्तरीय तथा सुरक्षित विद्युत् पुग्ने आशा लिइएको छ ।

त्यस्तै सामुदायिक ग्रामीण विद्युतीकरणका सवालमा महाँसंघ र क्याम्पसको सहकार्यमा अनुसन्धान कार्य गर्ने एवं कतिपय प्राविधिक सवालमा क्याम्पसले महाँसंघलाई सहयोग र सहजीकरण समेत गर्ने भएकाे छ । साथै अध्ययनको नाममा भइरहेको बौद्धिक पलायनलाई केही हदसम्म रोक्न समेत यसले मदत पुर्‍याउँने अपेक्षा गरिएको छ ।

नेपाल सरकारले जनसहभागितामा सामुदायिक विद्युतीकरण कार्यक्रम शुरु गरेपछि देशभरका ५२ जिल्लामा २८२ सामुदायिक संस्थामार्फत ५,००,००० घर परिवारमा विद्युतको विस्तार भएको छ । यसरी देशमा क्रियाशील सामुदायिक संस्थाहरूको छाता संस्थाको रूपमा सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महाँसंघ, नेपाल स्थापित भई क्रियाशील रहेको छ ।

सामुदायिक विद्युतीकरण शुरु भएको १४ वर्षको अवधिमा सहभागिता बापत नगद १ अर्ब ३० करोड भन्दा बढी रकम विद्युत् प्राधिकरणमा जम्मा भइसकेको छ । र ग्रामीण क्षेत्रमा विद्युतीकरण गर्न एक मात्र उपयुक्त मोडेल सामुदायिक विद्युतीकरण कार्यक्रम नै सफल कार्यक्रमको रूपमा रहेको देखिन्छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.