तामझामका साथ उद्‍घाटन गरिएको पानीजहाज कार्यालय ‘वेपत्ता’

| 2019 Feb 19 | 08:29 am 1651

काठमाडौं, फागुन ७: प्रधानमन्‍त्री केपी शर्मा ओलीले अढाइ वर्षदेखि भाषण गर्दै आएको पानी जहाज कार्यालयको उद्‍घाटन गत बुधबार गरेका थिए। एकान्तकुना चोकबाट सय मिटरअगाडि यातायात कार्यालयको छेउमा रहेको नेपाल पानी जहाज कार्यालयको उद्‍घाटनका क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालका नदी गहिरो नभएकाले कम गहिराइमा चल्न सक्ने गरी नयाँ पानीजहाजको डिजाइन गर्न पनि इन्जिनियरलाई आइडिया दिएका थिए । उनले नदीमाथि भएका पुलका कारण अवरोध देखिए पुल नै उठाएर भए पनि पानीजहाज चलाउन सकिने भन्दै उत्साहजनक भाषण गरेका थिए ।

नेपालमा रेलभन्दा पहिले पानीजहाज आउने विश्वासका बाकस सुम्पिए पनि जनताले पत्याउन छोडीसकेका थिए प्रधानमन्त्रीको भाषण। प्रधानमन्त्रीले विशेष महत्वसाथ उद्घाटन गरेको पानीजहाज कार्यालयले कत्तिको उत्साहका साथ काम गरेको होला भनेर बुझ्दा पहिले त पानी जहाज कार्यालयको अत्तोपत्तो छैन। न त सो स्थानमा बोर्ड झुन्ड्याइएको छ। न पानीजहाज कार्यालय हो भनेर चिनाउने कुनै संकेत।

उद्घाटन कार्यक्रमका दिन टाँगिएको बोर्ड पनि गेट अर्कोपट्टी उल्टो फर्काएर फ्याँकिएको अवस्थामा भेटियो। कार्यालय समय भइसकेको भएपनि कोही कर्मचारी र कुनै चहलपहल पानीजहाज कार्यालयमा थिएन।

उक्त भवनको भुँइतलामा एक जनाले लुगा धोइरहेका थिए भने अर्को एक जना माथिल्लो तलामा पत्रिका पढिरहेका थिए। भुँइतलाको व्यक्तिलाई ‘तपाईं पानीजहाज कार्यालयको कर्मचारी हो ?’ भनेर सोध्दा उनले होइनको शैलीको टाउको हल्लाए। यो पानीजहाज कार्यालय होइन र भन्दा उनले हो भन्‍ने शैलीमा फेरि टाउको हल्लाए।

उनले भने, ‘म माथिल्लो अफिसको मान्छे हो। यो अफिसमा त उद्घाटन भएको दिनदेखि कोही पनि आउनुभएको छैन ।’

उक्त भवनको माथिल्‍लो तलामा काठमाडौं चक्रपथ सुधार योजनाको कार्यालय पनि छ। साढे दुईतले भवनमा पानीजहाजका कार्यालयका लागि भुईंतलाका तीनवटा कोठा छुट्याइएको रहेछ।

सो कार्यालयमा तीनवटा कोठाबाहेक महिला र पुरुषका लागि छुट्याइएका दुई छुट्टाछुट्टै शौचालय पनि छन्। कार्यालयका सबै कोठामा ताला लगाइएको थियो। नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेपाल पानी जहाजको कार्यालय लेखिएको अर्को ठूलो बोर्ड पनि पुराना गाडीहरू राखिएको कोठामा थन्किएको थियो ।

यसअघि यान्त्रिक कार्यालय भएको कोठालाई नै पानीजहाज कार्यालय बनाएको ती माथिल्लो कार्यालयका कर्मचारीले बताए। यान्त्रिक कार्यालयलाई गत साउनमा हेभी इक्विपमेन्टसँग मर्ज गरेपछि असोजबाट यान्त्रिक कार्यालयका सबै काम बानेश्वरबाटै हुँदै आएको छ। तर, यान्त्रिक कार्यालयका केही सामान अहिले पनि त्यहीँ भएको ती कर्मचारीले बताए ।

पानीजहाज कार्यालय उद्घाटनका दिन चक्रपथ सुधार आयोजना लेखिएको बोर्ड पनि निकाल्न लगाइएको थियो। अहिले फेरि चक्रपथ सुधार योजना कार्यालयकै बोर्ड टाँगिएको छ।

प्रधानमन्त्रीले उद्घाटन कार्यक्रमपछि कार्यक्रमबाट बाहिरिनुअघि पानीजहाज कार्यालयको पनि अनुगमन गरेका थिए। तर, उद्घाटन भएको दिनदेखि नै कोही पनि कर्मचारी कार्यालय गएका छैनन्।

पानीजहाज ऐन २०२७ अनुसार गठन हुने पानीजहाज कार्यालयका लागि कर्मचारी दरबन्दी समेत स्वीकृत गरिसकेको छ। कार्यालयमा उपसचिवको नेतृत्वमा १६ जना कर्मचारी रहने व्यवस्था गरिएको छ। मन्त्रिपरिषदको गत पुस २९ गतेको बैठकले वरिष्ठ डिभिजनल इञ्जिनियर एक, शाखा अधिकृत एक, कानून अधिकृत एक, लेखा अधिकृत एक, मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इञ्जिनियर एक-एक गरी तीनजना, सहायक र कार्यालय सहयोगी गरी ८ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो।

तर, कर्मचारीको नियुक्तीको भने अहिलेसम्म कुनै अत्तोपत्तो छैन। ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि उनले यही २०७५ को पुष १६ गते भित्र पानीजहाज सञ्चालन भइसक्ने दाबीसमेत गरेका थिए।

भव्य प्रचारप्रसार र तामझामका साथ उद्घाटन गरिएको पानीजहाज कार्यालयको हविगत भन निकै दयनीय छ। कार्यालयमा ताला छ। पानी जहाज चलाउने विषयमा अध्ययसमेत भएको छैन। फगत मिडियाबाजी र अनावश्‍यक हल्ला फैलाउनका लागि मात्रै तामझाम गरेको देखियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.