पाल्पा, मंसिर १७: सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडक खण्डमा स्तरोन्नतिको काम गर्न भन्दै डिभिजन सडक कार्यालयले तीन दिनसम्म दिउँसो सवारी सञ्चालनमा रोक लगाएको छ ।
बुटवल–तानसेन सडक अन्तर्गत चिडियाखोलादेखि भुतखोला सडकखण्डको सडकको छेउछाउमा रहेका ठूला ढुंगा फुटाई हटाउनु पर्ने भएकाले सोमबार बिहान १० देखि ४ बजेसम्म सडक बन्द गरेको सडक डिभिजनले जनाएको छ ।
यस क्षेत्रका पहिरो हटाउनु पर्ने तथा सडक मर्मत सम्भार गनुपर्ने हुँदा मंसिर १७ गतेदेखि १९ गतेसम्म बिहान १० देखि ४ बजेसम्म केराबारीदेखि चिडियाखोलासम्म अत्यावश्यकीय सवारी मात्र चल्न दिने जनाइएको छ ।
यी बाहेक अन्य सवारी साधन पूर्ण रुपमा बन्द हुने भएको डिभिजन सडक कार्यालयका इन्जिनियर पवित्रमणी आचार्यले जनाएका छन् । यसअघि पनि भुतखोलामा गएको पहिरोमा मर्मतका लागि केहीसमय सवारी सञ्चालनराेकिएका थिए । यसरी सवारी सञ्चालनराेकिदायात्रु भने बिचल्लीमा पर्ने गरेका छन्।