तातो दूधले नुहाएर भुइँया पूजा

रिपोर्ट नेपाल | 2023 Feb 14 | 07:34 am 1217

धनुषा, फागुन २ः धनुषास्थित सबैला नगरपालिकाका मुसहर समुदायले उम्लिरहेको तातो दूधले नुहाएर भुइँया महाराजको पूजा गरेका छन्। मुसहर समुदायले आफ्नो कुल देवता दीना–भद्रीलाई स्मरण गर्दै उम्लिरहेको तातो दूधले नुहाएर भुइँया महाराजको पूजा गरेका हुन्। यसलाई बोलीचालीको भाषामा अपटनी पूजा पनि भन्ने गरिन्छ।

सबैला नगरपालिका–९, भठिहनमा आइतबार झाँकी तथा भजनकीर्तन गर्दै राजेन्द्र सदा र रामबली सदाले माटोको भाँडोमा उम्लिरहेको तातो दूध जीउमा छर्केर भुइँया महाराजको पूजा गरे। उनीहरूले भाकल पूरा भएपछि यो पूजा गरेको बताए। पूजामा भठिहन र वरिपरि गाउँका मुसहर समुदाय हेर्न आएका थिए। कुल देवताको स्मरण गरेर तातो दूधले नुहाउँदा शरीर नपोल्नु राजेन्द्र र रामबलीले बताए।

मुसहर समुदायका अगुवा रामदयाल माझीले मुसहर समुदायको कुलदेवता दीना–भद्रीकै अर्को नाम भुइँया महाराज रहेको बताए। माघ महिनामा कुनै पनि दिन यो पूजा मनाइन्छ। भाकल पूरा भएपछि पान, मखान, लड्डु, खीर, रोटी, सुपारीलगायत चिजबिज चढाउनुका साथै बाँसको धाजामा तीर धनुषा बनाइ उक्त बाँसको बडो धुमधामका साथ पूजाआजा गर्ने गरिएको उनले जानकारी दिए।

के हो भुइँया पूजा ?

भुइँया अर्थात् मैथिली शब्दमा तललाई जनाउँछ। तलको अर्थ धर्ती हो। जमिन, माटो वा पृथ्वीलाई भुइँया भन्ने गरिन्छ। भुइँया पूजा प्रकृतिको पूजाका रूपमा पनि लिन सकिने भनाइ छ। छैटाैँ शताब्दीमा वर्तमान नेपालकै सप्तरी जिल्लामा जन्मिएका दीना–भद्री दाजुभाइको पूजा गर्नु नै भुइँया पूजा हो।

दीना–भद्री मुसहर समुदायका कुल देवता तथा अन्याय, अत्याचार र शोषणको विरुद्धको महावीर योद्धाका रूपमा इतिहासमा वर्णन गरिएको छ। दीना–भद्रीलाई मुसहर समुदायले भुइँया महाराज भनेरसमेत सम्बोधन गर्दै आएका छन्। मुसहर कुलमा जन्मे पनि उनीहरूले सम्पूर्ण समाजको हितका लागि काम गरेको इतिहासमा छ। गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.