तराईमा आज मनाउँदै होली तर, जनकपुरमा भोली

रिपोर्ट नेपाल | 2019 Mar 21 | 07:51 am 2519

काठमाडौं, चैत्र ७ : तराई मधेश क्षेत्रमा बिहीबार होली मनाइँदै छ। पहाडी भूभागमा होलिका दहनअघि नै फागु (होली) मनाउने चलन भए पनि तराईमा भने पूर्णिमाको रातको अन्तिम प्रहरमा होलिका दहन गरेपछि भोलिपल्ट मनाउने परम्परा छ ।

होलिका दहनको दिन राति गाउँ टोलका मानिसहरु आ–आफ्नो घरमा पाकेका परिकार, काठ दाउरा र खेतबारीमा लगाइएका अन्नबालीको केही अंश लिएर जम्मा हुने गर्छन् । परिकार, काठ दाउरा र अन्नबालीलाई एक ठाउँमा राखी त्यसमा आगो लगाई होलिका दहन गरिन्छ। होलिका दहन भइसकेपछि मानिसहरू होलीको गीत गाउँदै आ–आफ्नो घर फर्किन्छन्।

तराई मधेशमा होलिका दहन नभएसम्म कसैले कसैलाई रङ अबिर लगाउन नमिल्ने विश्वास गरिन्छ। यो पर्वमा रङ अबिर लगाई मान्यजनबाट आशीर्वाद समेत लिइन्छ।

जनकपुरमा भने शुक्रबार होली मनाउने भएको छ। १५ दिने मिथिला माध्यमिकी परिक्रमाका श्रद्धालु जनकपुरको अन्तरगृह प्रवेश गरेको भोलिपल्ट जनकपुरमा होली मनाउने परम्परा छ।

माध्यमिकी परिक्रमा बुधबार जनकपुरस्थित बाह्रबिघामा समापन भएको छ। बिहीबार अन्तरगृह परिक्रम सकिएपछि शुक्रबार होली मनाइने जानकी मन्दिरका सहमहन्थ रामरोशनदास वैष्णवले जानकारी दिए।(थाहा खबर)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.