तत्कालीन एसपी डिल्लीराज विष्टविरुद्ध निर्मलाकी आमाले हालिन् किटानी जाहेरी

| 2018 Dec 18 | 03:07 pm 2284

काठमाडौं, पुस ३ : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको प्रारम्भिक चरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आज किटानी जाहेरी परेको छ ।

निर्मला पन्तकी आमा दुर्गादेवीले मंगलबार दिउँसो सार्वजनिक न्यायबिरुद्धको कसुरअन्तर्गत तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, प्रहरी निरीक्षक जगदिश भट्टसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) डीएसपी अंगुर जिसी लगायतविरुद्ध जोहरी दिएकी छन् ।

उनीहरुविरुद्ध परेको जोहरीमाथि छलफल भइरहेको कञ्चनपुर प्रहरीका डीएसपी कृष्णराज ओझाले जानकारी दिएका छन् । ‘निर्मलाकी आमाले जाहेरी हाल्नु भएको हो । एसपी सा’बसँग उहाँहरुको छलफल भइरहेको छ’, उनले भने ।

प्रारम्भिक चरणमा अनुसन्धान अधिकारीहरुले गरेको लापर्बाहीका कारण निर्मलाको हत्यारा पत्ता लाग्न नसकेको उनको आरोप छ । जाहेरीमाथि अनुसन्धानका गर्ने क्रममा प्रहरी अधिकारीहरुलाई जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले पक्राउ गर्न समेत सक्ने जनाइएको छ ।

सरकारी छानबिन समितिले घटनाको अनुसन्धानमा प्रहरीले लापर्बाही गरेको आरोपमा ८ कात्तिकमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई बर्खास्त गरेको थियो । उनीहरुलाई सरकारी सेवाका लागि योग्य हुने गरी बर्खास्त गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.