धनगढी- तेस्रो संस्करणको रुस्लान धनगढी प्रियिमर लिग (डिपिएल) टी-२० क्रिकेटको लिग चरणबाट आयोजक टोली धनगढी स्टार्स बाहिरिएको छ। बर्षाले खेल प्रभावित भएपछि स्टार्स र युनाइटेडले १-१ अंक बाढ्दै प्रतियोगिताबाट अनौपचारिक रुपमा बाहिरिएको हो।
शुक्रबारबाट परेको वर्षा शनिबार विहानसम्म पनि कायम रहेपछि मैदानमा पानी जमेका कारण खेल रद्द भएको हो । जित विहिन रहेको आयोजक टोली स्टार्सले आफ्नो चौथो खेलमा युनाइटेडसँग अंक बाँढ्दै अंक तालिकामा एक अंक मात्र जोडेको छ ।
पहिलो खेलमा काठमाडौं गोल्डेन्ससँग ४ विकेटले पराजित हुँदा दोस्रो खेलमा सिवाईसी अत्तरियासँग ५ रनले पराजित भयो । त्यस्तै आफ्नो तेस्रो खेलमा विराटनगर किङ्ससँग २१ रनको फराकिलो अन्तरले पराजित हुँदै स्टार्स अनौपचारीक रुपमा प्रतियोगिताबाट बाहिरिएको हो ।
यता अर्को घरेलु टोली युनाइटेड पनि सुरुवाती दुई खेलमा पराजित र पछिल्ला दुई खेलमा बर्षाका कारण अंक बाँढ्दै दुई अंक बनाएको छ । हाफ्नो पहिलो खेलमा रुपन्देही च्यालेन्जर्ससँग २ रनको झिनो अन्तरले पराजित भएको युनाइटेड दोस्रो खेलमा काठमाडौं गोल्डेन्ससँग ७ रनले पराजित भएको थियो ।
तेस्रो खेलमा विराटनगर किङ्ससँग बर्षका कारण अंक बाँढ्न बाध्य भएको थियो । अब युनाइटेले आफ्नो अन्तिम खेल जिते अरु टाेलीको नतिजामा भर पर्नु पर्ने छ । दुबै टोलीले एक एक खेल खेल्न बाँकी छ ।
शनिबारका खेल रद्द भएसँगै काठमाडौं अंक तालिकाको शीर्ष स्थानमा छ । ३ खेल खेलेको काठमाडौं पाँच अंकसहित शीर्ष स्थानमा रहँदा दुई खेल मात्र खेलेको सिवाइसी अत्तरिया ४ अंक सहित दोस्रो स्थानमा छ ।
त्यस्तै तीन खेल खेलेको रुपन्देही ४ अंक सहित तेस्रो, चार खेल खेलेको विराटनगर ४ अंक सहित चौथो, चार खेल नै खेलेको दुई अंक सहित पाँचौ र साविकको विजेता टोली धनगढी चार खेलमा मात्र एक अंक जोड्दै पुछारमा छ ।