सप्तरी, वैशाख २२: राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका एक डाक्टरले बिरामीलाई आफनो क्लिनिकमा नपठाएको भन्दै एक क्लिनिकका कर्मचारीलाई कुटपिट गरेका छन् ।
उक्त कुटपिटबाट टाउकोमा गम्भीर चोट लागेका सप्तरी डिजिटल ल्यावमा कार्यरत रञ्जित यादवलाई थप उपचारको लागि विराटनगर पठाईएको छ। अहिले यादवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक गुरुप्रसाद तिम्सिनाका अनुसार सगरमाथा अञ्चल अस्पतालमा करारमा कार्यरत डा प्रानेशकुमार यादवको कुटपिटबाट यादव घाइते भएको बताए । हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा यादव कुटपिट गरी फरार रहेको हुँदा उनको खोजि भईरहेको प्रहरीले जनाए ।