डा शिवमाया तुम्बाहाम्फे नेकपा केन्द्रीय सदस्यमा मनोनित

रिपोर्ट नेपाल | 2020 Jan 29 | 11:34 am 1642

काठमाडौं, माघ १५: रिक्त रहेको सभामुख पद नियुक्तिका लागि प्रकृया नमिलेका कारण केहि दिनअघि मात्र उपसभामुख पदबाट राजीनामा गर्न लगाएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले डा शिवमाया तुम्बाहाम्फेलाई नेकपा केन्द्रीय सदस्य बनाएको छ ।

मंगलबार बसेको नेकपा सचिवालयको बैठकले डा तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । नेकपा महासचिव विष्णु पौडेलले मंगलबारको सचिवालय बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको पुष्टि गरेका छन् ।

नेकपा केन्द्रीय समितिको बैठक बुधबारबाट सुरु हुँदैछ । त्यसैको पूर्व सन्ध्यामा तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।

पार्टी एकताअघि तुम्बाहाङ्फे तत्कालीन एमालेको केन्द्रीय सदस्य थिइन् । तर उपसभामुख बनेपछि संवैधानिक प्रावधानअनुरूप उनले पार्टीको सदस्यता परित्याग गरेकी थिइन् ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा गत असोज १४ देखि प्रतिनिधिसभा सभामुखविहीन बनेको थियो ।

त्यसमा पदपूर्ति गर्न नेकपाले नेता अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि तुम्बाहाङ्फेले राजीनामा दिनुपरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.