डा. बाबुरामले पहिलोपटक दौरा-सुरुवाल लगाएर भने– देश अनुसारको भेष !

रिपोर्ट नेपाल | 2019 Feb 21 | 04:28 pm 4224

काठमाडौं, फागुन ९ : पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालको संयोजक डा. बाबुराम भट्टराईले पहिलो पटक दाैरा-सुरुवाल लगाएका छन् ।

नयाँ शक्तिले सञ्चालन गरिरहेकाे ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ नामक अभियानका क्रममा कर्णाली प्रदेश पुग्नुभएका डा भट्टराईले पहिलोपटक दाैरा-सुरुवाल लगाएर आफ्नो फोटो सार्वजनिक गरेका हुन् ।

‘देश अनुसारको भेष ! जीवनमा पहिलोपटक दौरा–सुरुवाल लगाएर खस बाहुल्य कर्णाली प्रदेश प्रवेश गरियो’, दौरा–सुरुवाल पोशाकका आफ्ना ४ तस्वीर ट्वीटरमा पोस्ट गर्दै बाबुरामले लेखेका छन् ।

उनले आफू प्रधनमन्त्री हुँदा समेत दौरा-सुरुवाल लगाएका थिएनन् । वि.सं २०६८ सालसम्म नेपालको राष्ट्रिय पोसाक दौरा-सुरुवाल रहेको थियो तर सोही साल प्रधानमन्त्री  बनेका डा. भट्टराईले दौरा-सुरुवाललाई राष्ट्रिय पोसाकबाट हटाएका थिए ।

तत्कालीन माओवादी नेताहरु दाैरा-सुरुवाललाई ‘सामन्ती पाेशाक’ भनेर बहिस्कार गर्ने गर्थे । आज उनले पहिलाेपटक साेही पाेशाक लगाएर गर्विलाे भावमा सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गरेका छन् ।

डा भट्टराईले माघ १५ गते बिहान ८ बजे पाँचथरको चिवा भञ्ज्याङमा उक्त अभियानको उद्घाटन गरेका थिए । एक महिनासम्म चल्ने सो अभियान मध्यपहाडी (पुष्पालाल) लोकमार्ग आसपास हुँदै फाल्गुन १५ बैतडी पुगेर समापन हुने बताइएको छ । जनसंवाद यात्रा नाम दिइएको यो अभियानअन्तरगत २७ जिल्लाका ८६ स्थानमा गरी १०० बढी कार्यक्रम हुने जनाइएको छ ।

डा. बाबुराम भट्टराईले जाजरकोट पुगेर पहिलोपल्ट लगाए दौरा सुरुवाल

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.