डा. केसीलाई प्रयोग गरी भए/नभएका कथा बनाएर भ्रम छर्ने काम भयाे – अध्यक्ष प्रचण्ड

| 2018 Jul 24 | 02:54 pm 1505

काठमाडौं, साउन ८: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले डा. गोविन्द केसीलाई प्रयोग गरेर कम्युनिष्टहरुको एकता र निर्वाचनबाट बनेको दुई तिहाइको सरकारलाई नियोजित षड्यन्त्र गरी अराजकता मच्चाउन खोजेको बताएका छन् ।

नेकपा केन्द्रीय कार्यालय धूम्रबाराहीमा मंगलबार आयोजित कार्यक्रममा उनले डा. केसीको अनशनमा कांग्रेस मिसिएको समेत जिकिर गरे ।उनले भने, “हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ । प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ । प्रतिक्रियावादीहरुलाई कम्युनिष्ट एकता र स्थिर सरकार मन परेको छैन तर हामी त्यस्ता षड्यन्त्रलाई सफल हुन दिने छैनौँ ।”

उनले भएरनभएका कथाहरु बनाएर सरकार र नेकपाको विरोधमा भ्रम छर्ने काम भएकाले क्रान्तिलाई सफल बनाउन र स्थिर सरकारको विरुद्ध सबै हतियार प्रयोग गरेर भइरहेका नियोजित षड्यन्त्र चिर्न आह्वान समेत गरे ।

काँग्रेसले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली र संविधानको सर्वोच्चता मानेर अगाडि जान तयार छ कि छैन भन्ने प्रश्न गर्दै भने, ‘संसद्ले कानून बनाउँछ, काँग्रेस मान्न तयार छ कि छैन ? संवैधानिक बाटो चुनावबाट सरकारलाई अपदस्थ गर्न सकिन्छ, म लोकतान्त्रिक विधि र प्रक्रियामा आउन काँग्रेसलाई चुनौती दिन्छु । संघर्षको मैदान हामीले पनि देखेका छौँ । अलोकतान्त्रिक, प्रतिक्रियावादी र जनविरोधी कुनै पनि प्रयास सरकारलाई अस्वीकार्य छ र त्यसलाई नियन्त्रण गरिनेछ ।’

नियोजित रुपमा सरकार, कम्युनिस्ट पार्टी, मूल नेतृत्वविरुद्ध वितण्डसहित मिडियाबाट लडाइँ शुरु भएको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सरकार र पार्टीको रक्षाका लागि कसैसँग सम्झौता नगरिने प्रष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.