डा. केसीको अनसन स्थगित, भने, ‘भारतले सीमा मिचेको घटनाले दुःखी छु’

| 2019 Nov 12 | 05:30 pm 1763

काठमाडौं, कार्तिक २६ : चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले आज (मंगलबार) अनसन स्थगित गरेका छन् । कात्तिक १७ गते डडेलधुरामा अनसन शुरु गरेका केसीले मंगलबार ९ औं दिनमा स्थगित गरेका हुन् । देशमा सीमा विवादको मुद्दा चलेकाले आफूले अनशन स्थगित गर्ने निर्णय गरेको उनले बताएका छन् ।

डा. केसीले ४ वर्षीया बालिकाको हातबाट जुस पिएर अनशन तोडेका हुन्। डा. केसीले लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको विषयले स्तब्ध भएको उल्लेख गर्दै तत्काललाई अनशन स्थगित गरेका हुन् ।

‘भारतले जारी गरेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमाक्षेत्रस्थित लिम्पियाधुरासम्मको भूभाग समेटिएको छ। यो समाचारले अरु नेपाली जस्तै म पनि स्तब्ध छु,’ उनले भनेका छन्, ‘राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं’ । उनले माग पूरा नभए पुनः सत्याग्रहको आन्दोलन जारी रहने बताएका छन् ।

हिजो नै डा. केसीलाई अनसन स्थगित गर्न आग्रह गर्दै नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याउन कोशिस गरिएको थियो । तर डा. केसीले अस्वीकार गरेपछि सेनाको हेलिकोप्टर रित्तै फर्किएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.