डडेल्धुराका आधा दर्जन ग्रामीण सडक पहिरोका कारण अवरुद्ध

रिपोर्ट नेपाल | 2020 Jul 07 | 09:20 am 1755

डडेल्धुरा, असार २३ः लगातारको वर्षासँगै आएको बाढीपहिरोले डडेल्धुराका आधा दर्जन ग्रामीण सडक पहिरोका कारण अवरुद्ध हुँदा यातायात ठप्प भएको छ।

डडेल्धुरा जिल्लाका सात स्थानीय तह जोड्ने कच्ची सडक हिलाम्मे तथा भासिँदै गएपछि सवारी साधन चल्ने अवस्था नभएको उग्रतारा डडेल्धुरा यातायात प्रालि डडेल्धुराले जनाएको छ।

जिल्लाको बगरकोट–रुपाल, कोटेली–धनकाट, देवल–राजुल, कोरालखोला–रेल र पोखरा–बेलापुर सडक अविरल वर्षाका कारण अवरुद्ध भएपछि यातायातका साधन चल्ने अवस्थामा नरहेको यातायात कार्यालयले जनाएको छ।

जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाअन्तर्गत भएर सञ्चालन हुने सडकमा ढुङ्गामुढा राखेर आवतजावत गर्नुपर्ने अवस्था रहेको छ। अमरगढी नगरपालिका, गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिकाको सडक लगातारको वर्षाले खाल्डाखुल्डी र हिलाम्मे भएर चिरा परी भासिँदै गएको अवस्थामा पुगेको स्थानीयवासीको भनाइ छ।

दैनिकजसो जिल्ला सदरमुकाम आवतजावत गर्ने र घर फर्किन लागेका यात्रुलाई ग्रामीण सडक लगातारको वर्षाका कारण अवरुद्ध हुँदा सास्ती खेप्नुपरेको नवदुर्गा गाउँपालिका १ का स्थानीय लोकेन्द्र विकको गुनासो छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.