ठेकेदारकै कारण मल अभाव

रिपोर्ट नेपाल | 2022 Jun 10 | 08:09 am 1801

काठमाडौँ, जेठ २७ः पछिल्लो समय रासायनिक मल ढुवानी गर्ने ठेकेदार कम्पनीको हेलचेक्र्याइँका कारण मलको अभाव भइरहेको छ । बिहीबार भारतबाट फर्किएका कृषि तथा पशुपन्छीमन्त्री महिन्द्रराय यादवले अन्तर्राष्ट्रिय रूपमा मलमा भएको मूल्य वृद्धि तथा अभावका कारण यहाँ पनि मलको अभाव भएको बताए ।

“तर ठेकेदार कम्पनीका कारण नेपालमा अलि बढी नै समस्या भयो । ठेकेदार कम्पनीले टेन्डर पार्ने तर विभिन्न बहानामा मल नल्याइदिएका कारण यहाँ अलि बढी नै समस्या देखिएको हो । त्यही भएर भारतसँग जीटुजी माध्यमबाट तत्काल मल ल्याउन पहल गरिएको हो,” मन्त्री यादवले भने ।

ठेकेदार कम्पनीले टेन्डर (बोलपत्र) स्वीकार गरे पनि समयमा मल नल्याइदिएका कारण मलको अभाव भइरहेको कृषि सामग्री कम्पनीले जनाएको छ । पहिलाको जस्तो टेन्डर भर्न कम्पनी नआउने गरेको र टेन्डर भरेर कबोल गरे पनि मल समयमा नल्याइदिएका कारण किसानसम्म पु-याउन समस्या भइरहेको कृषि सामग्री कम्पनीका प्रमुख राजेन्द्रबहादुर कार्कीले बताए ।

भिध जेभी, सिल्क मार्केट, वेस ट्रेडिङ, सिल्क मार्केट सिनोम्याक बिड ग्लोबल म्याक्टिक्स, जेन ट्रेडलगायतका कम्पनीले मल ल्याउने ठेक्का पाए पनि उनीहरूले समयमा मल नल्याइदिएकाे उनले जानकारी दिए । प्रतिमेट्रिक टन छ सय अमेरिकी डलरमा सम्झौता भएकामा अहिले ठेकेदारले नौ सय डलर दाबी गरिरहेको कार्कीले बताए ।

कानुनी म्याद सकिएपछि कृषि सामग्री कम्पनीले ती ठेकेदार कम्पनीको टेन्डर रद्द गरेको छ तर टेन्डर रद्द भए पनि कतिपय ठेकेदार कम्पनीले मल ल्याउन सुरु गरेका छन् भने कतिपयले नेपाल भित्र्याइसकेका छन् । “कम्पनीले टेन्डर रद्द गरिसकेका कारण अब आउने मलको जवाफदेही हामी हुँदैनौँ,” प्रमुख कार्कीले भने ।

चीनबाट ल्याउने एक लाख पाँच हजार मेट्रिक टन मलको टेन्डर रद्द भइसके पनि सिल्क मार्केटले साढे सात हजार मेट्रिक टन मल तातोपानी नाकामा ल्याइसकेको छ । त्यसलाई स्वीकार गर्न नसकिने कृषि सामग्री कम्पनीले जनाएको छ । भिध जेभीले २५ हजार मेट्रिक टन मल ल्याउने टेन्डर पाएको थियो तर उसले पनि समयमा नल्याइदिएका कारण टेन्डर रद्द भइसकेको छ । भिधले तातोपानी नाकामा चार सय मेट्रिक टन ल्याएर राखेको मलको पनि सरकार जवाफदेही नहुने उनले बताए ।

“टेन्डर रद्द भइसकेपछि सिल्क मार्केटले नौ हजार ९७० बोरा युरिया ल्याएर तातोपानी भन्सारमा थन्क्याएको छ । त्यो मल पनि कम्पनीले बुझ्ने छैन,” भनेको बेलामा नल्याउने र टेन्डर रद्द भइसकेपछि ल्याएको मल कानुनी रूपले बुझ्न नमिल्ने प्रमुख कार्कीको दाबी छ ।

यी कम्पनीले समयमा मल ल्याएको भए मकै तथा तरकारी खेतीका लागि अभाव नहुने उनको दाबी छ । यसरी अभाव सिर्जना गराउने कम्पनीलाई कानुनअनुसार कारबाही हुने उनले बताए । धान खेतीका लागि मलको अभाव नहोस् भनेर आफूहरू त्यसको जोहोमा लागेको उनले बताए । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खरिद गर्नेमध्ये २० हजार मेट्रिक टन डीएपी र २२ हजार मेट्रिक टन युरिया आउने क्रममा रहेको र त्यो असारको पहिलो हप्तासम्ममा आइपुग्ने उनले बताए ।

कृषि सामग्री कम्पनीले खरिद गर्नेमध्ये ३० हजार मेट्रिक टन युरिया असारको दोस्रो हप्ता, २० हजार मेट्रिक टन डीएपी असारको तेस्रो हप्तादेखि र २० हजार मेट्रिक टन डीएपी असार अन्तिम हप्तादेखि प्राप्त हुन सुरु हुने उनले जानकारी दिए। भारतबाट जीटुजी (सरकारदेखि सरकार) माध्यमबाट खरिद हुने ५० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डीएपी असार मसान्तसम्म आइपुग्ने उनले जानकारी दिए । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.