ठाउँ अभावका कारण आलोपालो सुत्छन् कैदीबन्दी

| 2022 Jul 04 | 01:21 pm 3869

जाजरकाेट, असार २०ः जाजरकोट कारागारमा ठाउँको अभाव हुँदा कैदीबन्दी आलोपालो सुत्ने गरेका छन्। बीस कैदीबन्दी अट्ने ठाउँ रहेको कारागारमा ५४ कैदीबन्दी राख्दा व्यवस्थापनमा समस्या उत्पन्न भएको हो।

पन्ध्र पुरुष र पाँच महिलाको क्षमता रहेको कारागारमा अहिले ५४ कैदीबन्दी छन्। कारागारका नाइके कुशबहादुर महताराले क्षमताभन्दा बढी कैदीबन्दी भएपछि विद्युत्, खानेपानी, सैय्या र स्वास्थ्य उपचारमा समस्या उत्पन्न भएको बताए।

कारागार प्रमुख चन्द्रबहादुर गिरीले जिल्ला कारगारमा अहिले ३५ कैदी र १९ थुनुवा गरी जम्मा ५४ कैदीबन्दी रहेको बताए।  पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न कारागार प्रशासनलाई समस्या भइरहेको उनको भनाइ थियो।

जिल्लामा रहेको कारागार जीर्ण भएपछि कैदीबन्दीले वर्षाको समयमा राम्ररी सुत्न नपाउने कैदीबन्दी दीर्घबहादुर नेपाली बताउँछन्।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले कारागारमा देखिएका समाधानका लागि पहल गरिने बताएका छन्। कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भइरहेको र यसको समाधानका लागि पहल जारी रहेको उनको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.