ठमेलमा ‘साइकल लेन’ निर्माण हुने

रिपोर्ट नेपाल | 2018 Aug 08 | 12:43 pm 1321

काठमाडौं, साउन २३: काठमाडौँ महानगरपालिकाले छिटै ठमेलमा साइकलमात्र हिँड्ने बाटो (साइकल लेन) निर्माण गर्ने तयारी गरेको छ । मुख्य पर्यकटीयस्थल ठमेलमा घुम्न आउने पर्यटक साइकलमा यात्रा गर्न रमाउने भएकाले उनीहरुलाई नै लक्षित गर्दै उक्त स्थानमा साइकल लेन निर्माण गर्न लागेको कामपाले जनाएको छ ।

कामपाका भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाका अनुसार उक्त कार्य अहिले ठमेलबाट शुरु गर्ने र अन्य स्थानमा पनि आवश्यकताअनुरुप विस्तार गरिनेछ । “काठमाडौँ उपत्यकाको सवारी साधनबाट हुने गरेको बढ्दो प्रदूषण नियन्त्रण गर्न पनि यस किसिमको व्यवस्था जरुरी भइसकेको छ,” प्रमुख थापाले भने।

चालु आवमा मात्रै कामपाले साइकल लेन निर्माणका लागि रु एक करोड बजेट छुट्याएको छ । शुरुमा ठमेलमा निर्माण उक्त कार्य बजेटले भ्याएसम्म अन्य स्थानमा पनि निर्माण गर्ने योजना कामपाको रहेको छ ।

अघिल्लो वर्ष नै कामपाले मुख्य पर्यटकीयस्थल भन्दै ठमेललाई सवारीरहित क्षेत्र घोषणा गरिसकेको भएपनि पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन। त्यसैगरी ठमेलका खाल्डाखुल्डीको समस्या पनि त्यत्तिकै नै छ । खाल्डाखुल्डीको कारणले गर्दा वर्षाको समयमा हिलो र हिउँदको समयमा धूलोको सामना गर्न ठमेलमा आवतजावत गर्ने यात्रुको बाध्यता हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.