ट्रायल फेललाई लाइसेन्स दिने १० जनाविरुद्ध मुद्दा

रिपोर्ट नेपाल | 2018 Oct 10 | 07:39 am 1829

काठमाडौं, असोज २४: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रायल फेल भएकालाई चालक अनुमतिपत्र (लाइसेन्स) दिएको आरोपमा १० जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका प्रमुख (उपसचिव) तेजनारायण यादवसहित १० जनाविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकामा उपसचिवसहित ६ अधिकृत छन् ।

अख्तियारले एकान्तकुना कार्यालयका शाखा अधिकृतहरू ईश्वरराज रेग्मी, भूपराज दाहाल, शिवप्रसाद सुवेदी, विष्णुप्रसाद सुवेदी, मेकानिकल इन्जिनियर श्याम केसी, नायब सुब्बा लेखनाथ भुसाल, ठूलो भर्‍याङ कार्यालयका शाखा अधिकृत शालिग्राम पौडेल, कम्प्युटर अपरेटर विज्ञान खडकी, यातायात व्यवस्था विभागका कम्प्युटर अपरेटर लक्ष्मण तिवारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ अनुसार हदैसम्मको जरिवाना र कैद सजाय गर्न अभियोगपत्रमा मागदाबी गरेको छ । अनुसन्धानका क्रममा ती कर्मचारीले ट्रायल फेल भएकालाई लाइसेन्स दिएको खुलासा भएपछि उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सहसचिव रामेश्वर दंगालले जनाए ।

‘अनुसन्धान सिलसिलामा ती तीन कार्यालयबाट गत माघ १ देखि फागुन २५ सम्म कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल एवं थपघट गरी गराई २ सय ४ वटा लाइसेन्स जारी गरेको पाइयो,’ अख्तियारद्वारा जारी विज्ञप्तिमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.