सुर्खेत, माघ १७: वीरेन्द्रनगरको जुम्लारोडस्थित पिपिरा चोक नजिकै शुक्रबार बिहान ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।।
सुब्बाकुनाबाट वीरेन्द्रनगर बजारतर्फ आउँदै गरेको भे १ त ७५८९ नम्बरको ट्याक्टरलाई पछाडीबाट आइरहेको लु १ ख ७६७० नम्बरको ट्रकले ठक्कर दिँदा ट्याक्टर चालक जाजरकोटको चुनीचाँदे गाउँपालिका ७ का ३४ वर्षीय प्रेम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
ट्रकको ठक्करपछि गम्भीर घाइते भएका कार्कीलाई अस्पताल पुर्याइए पनि
चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलले बताए ।
ट्याक्टर चालकको मृत्यु भएपछि आफन्तले पिपिरा चोकमा दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।
गत मंगलबार वीरेन्द्रनगरमा टिपरको ठक्करबाट कालीकोटको युवकको मृत्यु भएपछि तीन दिनसम्म वीरेन्द्रनगर अशान्त बनेको थियो । अर्को दुर्घटना भएपछि पुनः वीरेन्द्रनगरमा आन्दोलन सुरु भएको छ ।