ट्याक्सी नं ४३४१ : ट्याक्सी बोलाउँदै धुलो उडाउँदै

| 2019 Mar 15 | 07:43 am 2332

कास्की, चैत १ : ‘ट्याक्सी गुड्यो सरर पोखराको बजारमा
कति आए कति गए हाम्रो नजरमा’ (तिलकबम मल्ल)

चालक भन्‍नेबित्तिकै जो कोहीको मानसपटलमा पुरुष पात्रको छवि तयार हुन्छ । फरक क्षेत्रमा फरक विचारका साथ निडर र निर्भीक रुपमा बेग्लै पहिचान बनाउन अहिले महिलाहरु पनि यस पेशामा आइसकेको कमैलाई थाहा छ ।

यातायात व्यवस्था कार्यालय, गण्डकी सवारीका नासु चूडामणि अर्यालका अनुसार झण्डै ६ हजार ट्याक्सी कार्यालयमा दर्ता भएका छन् । यस भीडमा पोखरा महानगरपालिका वडा नं ५ की विष्णु कुँवरको परिचय ट्याक्सी नं ४३४१ बनेको छ ।

सानैदेखि फरक क्षेत्रबाट अघि बढ्न रुची राख्ने कुँवर एथलेक्टिस र तेक्वान्दोको खेलाडीसमेत हुन्। मेहनत र कर्ममा विश्वास गर्ने कुँवरले प्रवेशिकासम्मको अध्ययन गरिन्। सिन्धुलीका लोकबहादुर न्यौपानेसँग प्रेमविवाह गरेकी कुँवरले सुरुका दिनमा पोखरा सभागृह सडकपेटीमा तरकारीको व्यापार गरिन् ।

दिनहुँ सयौँ ट्याक्सी ओहोरदोहोर गर्दा सबै पुरुष चालक मात्रै देख्थिन् । प्राइभेट कार हाँक्ने महिला भने प्रशस्त देखिन्थे। उनलाई लाग्यो के महिला ट्याक्सी चालक बन्‍न सक्दैनन् र ? उनलाई आफैँभित्रको प्रश्नले आफैँलाइ जगायो र ट्याक्सी सिक्न प्रेरित गर्‍यो ।

उनले विसं २०६७ वैशाखमा ट्याक्सी चलाउन सिकिन् र लगत्तै अनुमतिपत्र पनि लिइन् । श्रीमानलाई आफूले ट्याक्सी चलाउन चाहेको बताइन् तर उनले स्वीकृति दिएनन् । पछि माइतमा बुबाले “हुन्छ नि, तिमीले चलाउन सक्छौ” भनेर आँट दिए। कुँवरको आत्मविश्वास बढ्यो र विस्तारै श्रीमानको साथ पनि थपियो ।

उनले मासिक रु २८ हजार किस्ता बुझाउने गरी बैंकबाट रु १३ लाखमा नयाँ मारुती अल्टो गाडी निकालिन्। विसं २०६७ जेठ १६ गतेदेखि कुँवरको परिचय महिला ट्याक्सी चालक भनेर फेरियो । फरक क्षेत्रमा आठ वर्षदेखि अविचलित उनी देशका कुनाकन्दरा पुगेका छन्। धेरै रातका बाटो छिचोलेकी छन् । बीच बाटामा टायर पङ्क्चर हुँदा टायर फेर्नुपरेको छ । सानोतिनो पार्टपुर्जाको काम आफै मिस्त्री बनेर बनाएकी छन् । आफ्नो कामप्रति उनलाई उत्तिकै आत्मसम्मान छ । उनी निकै सन्तुष्ट छिन्।

हताश, निराश र अल्छी नमान्ने हो भने मासिक रु ६० हजारको कमाइ हुने कुँवर बताउछिन्। उनका दुई छोराछोरी निजी विद्यालयमा अध्ययनरत छन् । श्रीमान् पनि पर्यटकको हायस गाडी चलाउछन्। दुवैको आम्दानी सन्तोषजनक छ । रिजर्भमा उनको खोजी बढी हुने गर्छ । एकचोटि ट्याक्सी चढेको मानिसले उनलाई नै खोज्ने गर्छन् । यात्रुको विश्वास पनि महिला चालकमा अलि बढी हुने गरेको उनको अनुभव छ ।

पेशाप्रतिको इमान्दारी पनि कुँवरमा उत्तिकै छ । एकचोटि पोखरादेखि काठमाडौँ जाने क्रममा एक यात्रुले ट्याक्सीमै झोला छाडे । पछि फर्कने बेला कलङ्कीमा त्यो झोला देखिन् । चेक र नगद गरेर झण्डै रु १७ लाख रहेछ । पछि प्रहरीमार्फत सम्बन्धित यात्रुलाई बुझाइन्। यस्तो भइरहन्छ । कुँवरले आफ्नो इमान्दारी प्रदर्शन गर्दै आएकी छन् । आज पनि ती यात्रु जापानबाट आएपछि कुँवरकै ट्याक्सीमा यात्रा गर्न मन पराउँछन् ।

कुँवर भन्छिन्, “सबै कुराबाट खुशी छु तर एउटै कुरामा सन्तुष्ट हुन सकेको छैन । मैले थुप्रै सम्मान पाएको छु, आम्दानी पनि राम्रो छ । त्यस्तो कुनै असहज अवस्थाको सामाना गर्नु परेको पनि छैन। आठ वर्षदेखि म यो क्षेत्रमा एक्लै छु । अर्को ट्याक्सी चालक महिला आउनुभएको छैन ।” यस क्षेत्रमा आत्मविश्वास र धैर्यसँगै घर परिवार र समाजबाट सकरात्मक साथको जरुरी हुने उनी बताउँछिन्।

“सरकारले थुप्रै पैसा महिला सशक्तीकरणको नाममा खर्च गरेको छ । सिलाइकटाइ, गुडिया र अचार बनाउन भन्दै रकम खर्चिएको पाइन्छ बरु केही महिलालाई निःशुल्क ट्याक्सी चलाउन तालीम र सस्तो व्याजमा ऋण उपलब्ध गराउने हो भने यो क्षेत्रमा पनि महिलाको उपस्थिति बढ्न सक्थ्यो”, उनले भनिन्। सरकारले विशेष पहल थाल्ने हो भने यस क्षेत्रबाट महिलाको जीवनस्तरमा परिवर्तन आउने उनको विश्वास छ ।

‘ट्याक्सी बोलाउँदै धुलो उडाउँदै
मायाले बोलाउँछ रुमाल हल्लाउँदै’(एसके अधिकारी, राजेशकुमार श्रेष्ठ, नित्याशिवा)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.