टिभी च्यानल बन्द गर्ने केबुल व्यवसायीविरुद्ध सीआइबीमा उजुरी

रिपोर्ट नेपाल | 2019 Jun 25 | 06:24 pm 1747

काठमाडौं, असार १० : उपभोक्ता हित संरक्षण मञ्चले इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायकविरुद्ध संस्थाविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) मा उजुरी दर्ता गरेको छ ।

मञ्चले सुविसु केवल नेट प्रालिका सञ्चालक सुधिर पराजुली र वागेश्वरी केवल टेलिभिजन प्रालिका सञ्चालक लक्ष्मीनारायण शाहविरुद्ध सीआइबीमा उजुरी हालेको हो । इन्टरनेट तथा टेलिभिजन सेवामा विदेशी च्यानलका टेलिभिजन प्रशारणमा अवरोध पुर्‍याइ करोडौं रकम भुक्तानी गरिसकेका लाखौ नेपाली उपभोक्तामाथि अन्याय गरेको आरोप लगाउँदै मञ्चले उजुरी दर्ता गरेको हो ।

नेपाल केवल टेलिभिजन महासंघले क्लिन फिड लागू गर्ने सरकारको तयारीविरुद्ध सांकेतिक आन्दोलन गर्दै सोमबार दिउँसो तीन बजेदेखि विदेशी च्यानलहरु २४ घण्टाका लागि प्रशारण बन्द गरेको छ । च्यानलहरु मंगलबार दिउँसो ३ बजेपछि मात्र खुल्ने जनाइएको छ ।

मञ्चले दर्ता गरेको उजुरीमा कानून बमोजिम दर्ता नै नभएको इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक संघ नामक संस्थाका नामबाट केही व्यक्तिहरुले इन्टरनेट तथा टेलिभिजन सेवाको सञ्चालन प्रशारणमा अवरोध पुर्‍याएको भन्दै उनीहरुमाथि कारवाही गर्न माग गरिएको छ ।

सार्वजनिक सेवा टेलिभिजन अवरुद्ध पार्ने अपराधजन्य कार्यमा संलग्न व्यक्तिलाई सजाय गर्न र अवरुद्ध सेवा सञ्चालन गरी उपभोक्ताको हित संरक्षण तथा पीडित उपभोक्तालाई क्षतिपूर्ति भराउनु आवश्यक रहेको मञ्चले उल्लेख गरेको छ ।

मञ्चका उपमहासचिव अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले उजुरी दर्ता गरेका हुन् । नेपाल सरकारले विज्ञापनसम्वन्धी विधेयकको मस्यौदा तयार गरी उक्त विधेयक हाल संसदमा विचाराधीन छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.