संखुवासभा, माघ ३ : संखुवासभाको धर्मदेवी नगरपालिकामा टिपरले र बसलाई ठक्कर दिँदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बिहीबार दिउँसो धर्मदेवी–५ नर्सरी चोकमा मुडेबाट चैनपुर जाँदै गरेको बा२क ८५१५ टिपरले को१ख २१६१ नम्बरको बसलाई ठक्कर दिँदा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए। बस चैनपुर नगरपालिका –१ नुनढाकी बाट धरान जाँदै गर्दा धर्मदेवि–५ नर्सरी चोकमा टिपरसँग ठोकिएको थियो।
गम्भीर घाइते हुनेमा झापा बुद्ध शान्ति गाउँपालिका–४ का ८२ वर्षीय खड्ग लिम्बू, चैनपुर नगरपालिका–५ की ५० वर्षीय मेनुका थापा, चैनपुर–२ का १८ वर्षीय सन्तोष गौतम र चैनपुर–२ की १० वर्षीय सविना खाती रहेका छन्। उनीहरूको थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरी निरीक्षक कटुवालले जानकारी दिए।
अन्य सामान्य घाइतेको धर्मदेवि नगरपालिका मुडेमा उपचार भइरहेको प्रहरीको भनाइ छ। टिपर चालक धर्मदेवि–५ का धनबहादुर दमाई र बस चालक मोरङका मानबहादुर आले मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।