टनकपुरको पानीले पहिलो रोपाइँ

रिपोर्ट नेपाल | 2022 Jun 30 | 07:23 am 1785

सुदूरपश्चिम प्रदेश, असार १६ः  महाकाली सन्धिमा उल्लेख भएअनुसार नेपालले सिँचाइका लागि पाउने भनिएको पानी २६ वर्षपछि पाएको छ ।  बुधबार राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले सो नहरको पानीले रोपाइँ गरेर नहर उद्घाटन गरेका हुन् ।

नेपालले महाकाली सिँचाइ तेस्रो चरण आयोजनाअन्तर्गत नहर निर्माण कार्य आर्थिक वर्ष २०६३/६४ बाट सुरु गरे पनि पानी ल्याउन महाकाली नदीसम्म पुग्ने एक हजार दुई सय मिटर नहर भारतीय क्षेत्रमा पर्ने भएकाले भारतीय पक्षले बेवास्ता गर्दा आयोजना सुस्त गतिमा अगाडि बढेको थियो ।

दुई वर्षअघि तत्कालीन ऊर्जासचिव दिनेशकुमार  घिमिरेको भारत भ्रमणका क्रममा सहमति गरेपछि भारतले आफ्नो क्षेत्रमा पर्ने सम्झौताअनुसार बनाउनुपर्ने नहर निर्माण गरेको छ ।

नेपालले पनि तीव्र  गतिमा काम अगाडि बढाएको र योजना तोकिएकै समयमा पूरा हुने सिनियर डिभिजन इन्जिनियर शम्भुराज पण्डितले बताए । उनले भने, “१५१ किलोमिटर निर्माण हुने नहरको हामीले अहिलेसम्म १६ प्रतिशत काम पूरा गरिसकेका छौँ ।”

अहिले भारतले आफ्नो क्षेत्रमा बनेको नहर परीक्षण गरिरहेको छ । भारतले नहरमा पानी भर्ने र खाली गर्ने काम गरिरहेको छ । मूल नहर निर्माण भएको क्षेत्रमा शाखा नहर निर्माण प्रक्रिया पनि सुरु भएको छ । २२ वटा शाखा नहर निर्माणका लागि जमिन अधिग्रहणदेखि डिजाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा समेत मूल नहरसँगै शाखा नहर निर्माणका लागि बजेट विनियोजन गरेको छ । २२ वटा शाखा नहर निर्माण भएपछि ५३ सय हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ । शाखा नहर निर्माणका लागि आठ हेक्टर जमिन अधिग्रहण गर्नुपर्नेछ ।

सरकारले दुई वर्षअघि सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेपछि निर्माण कार्यले गति लिएको हो । यो नहरबाट कैलालीको मालाखेती र कञ्चनपुरका दक्षिणी क्षेत्र पुनर्बाससम्मै सिँचाइ सुविधा पु-याउने लक्ष्य लिइएको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.