झोलुङ्गे पुल निर्माण भएपछि जोखिम माेलेर खोला तर्नु पर्ने बाध्यता हट्यो

| 2021 Jan 31 | 09:21 pm 2693

  • थम्मन थापा

बागलुङ, माघ १८ः गलकोट नगरपालिका ७ मल्म स्थित बामीया आँगाखेत जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । पुल निर्माण भए सँगै स्थानीयलाई आवत जावत गर्न सहजता भएको छ ।

हुलुवा खोलामा ६९ मीटर लामो पुल बनेपछि दीपज्योति आधारभूत विद्यालय, गलकोट इंङ्लिस सेकेण्डरी स्कुल जाने विद्यार्थी सहित बामिया र आगाखेतका बासिन्दाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको पुल निर्माण समितिका अध्यक्ष रत्न बहादुर मल्लले जानकारी दिए ।

उनले भने त्यहाँ रहेको पुरानो पुल बर्खायाममा हूलुवा खोलामा आएको बाढीले बगाएपछि ओहोर दोहोर गर्न समस्या भएको थियो ।

३७ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण भएको उक्त पुल निर्माण कार्यमा स्थानीयले ८० हजार रुपैयाँ बराबरको जनश्रमदान गरेको पुल निर्माण समितिका सचिव नर बहादुर थापा मगरले  बताए ।

२० टन भार क्षमताको उक्त पुल निर्माण गर्न सामाजिक तथा प्राविधिक सहयोग बिवाईसी बागलुङले गरेको थियो ।

नवनिर्मित झोलुङ्गे पुलको कोषाध्यक्ष हुम कुमारी थापाले आय व्यय प्रस्तुत गरेकी थिइन् । हुलुवा खोलामा आएको बाढीले पुरानो पुल बगाएर लगेपछि दीपज्योति आधारभूत विद्यालयमा जान आउन शिक्षक विद्यार्थीलाई निकै समस्या भएकोमा पुल निर्माण भए सँगै सहजता भएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताए।

कार्यक्रममा बोल्दै प्राविधिक नारायण प्रसाद डाँगीले विकासको पूर्वाधार मध्यको झोलुङ्गे पुल पनि समाजको महत्वपूर्ण सम्पति भएको हुँदा यसको संरक्षणमा समुदायको सक्रियता रहनु पर्ने उल्लेख गरे ।

कार्यक्रमको सञ्चालन झोलुङ्गे पुल निर्माण समितिका सदस्य टेकनाथ शर्मा गौतमले गरेका थिए । नेपाल सरकारको क्षेत्रगत कार्यक्रम अन्तर्गत उक्त  झोलुङ्गे पुल निर्माण गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.