बैतडी, मंसिर ६ः झुलाघाट नाका पाँच दिनका लागि खोलिने भएको छ । भारतसँग सीमा जाेडिएकाे उक्त नाका भारतीय पेन्सनधारी नेपाली नागरिकलाई सहज हाेस् भनेर यही मंसिर ८ गतेदेखि मंसिर १२ गतेसम्म खुला गर्न लागिएकाे हो ।
गत चैतदेखि काेराेना महामारीका कारण बन्द रहेकाे नाका दुवै देशका स्थानीय प्रशासनहरूको सहजीकरणमा खोल्न लागिएकाे हाे । लामो समयदेखि जिल्लामा भारतीय पेन्सनधारीहरू पेन्सन बुझ्न नपाएकाले उनीहरूकाे सहजताका लागि नाका खोल्ने तयारी गरिएकाे बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए ।
भारतीय बैंककाे शाखा जिल्लामा नहुँदा भारतीय पेन्सनधारी नागरिकहरूलाइ समस्या भएकाे थियाे । सीमा नाका बन्द भएका कारण उनीहरूले गत चैतदेखि नै पेन्सन बुझ्न पाएका छैनन् । तर नाका खुलाए पनि आवतजावत गर्दा स्वास्थ्य सुरक्षा र सावधानी भने अपनाउनुपर्ने बताइएकाे छ ।