जो घर-जग्गा बेचेर पनि बेवारिसे लासको व्यवस्थापन गरिरहेका छन्

| 2018 Jul 27 | 12:27 pm 4576

ऋण लिएर बेवारिसे लाशको सतगत

– नवीन राई

समाजसेवामा विनयजंग बस्नेतको छुट्टै नाम छ । विगत पाँच वर्षदेखि उनले समाजसेवाको काम गर्दै आएका छन् । कुनैबेला कुलतमा फसेर एक्लो भएका बस्नेतले पछिल्लो समय सबैको मन जित्ने काम गर्दै आएका छन् ।

कुलतमा लागेर आफ्नो घर–परिवार, आफन्त शुभचिन्तक सबै गुमाएका बस्नेत अहिले बेवारिसेहरूको अभिभावक बन्दै आएका छन् । उनले आजसम्म १०३ वटा बेवारिसे शवको सद्गत गरिसेका छन् ।

शिक्षण अस्पताल, भक्तपुर अस्पताल, पाटन अस्पताल लगायतका विभिन्न ठाउँबाट बेवारिसे शव जम्मा गरी पशुपतिस्थित आर्यघाटमा हिन्दू संस्कृतिअनुसार सद्गत गर्दै आएका छन् समाजसेवी बस्नेतले ।

शव देख्दा उनलाई डर, घिन केही लाग्दैन । कयौँ रात शवसँगै एक्लै पनि बिताएका छन् उनले । विगत पाँच वर्षदेखि यो काम निरन्तर गरिरहेका छन् । आफ्नो घर–जग्गा बेचेर समेत बेवारिसे शवको सद्गत गर्नु उनको अभीष्ट हो ।

मास्टर डिग्रीसम्म पढेका बस्नेत कुनै अफिसर भई सुटमा सजिएर हिँड्नुपर्ने हो, तर उनी रात–दिन मरेर कुहिएका, गन्हाएका शव बटुल्न व्यस्त हुन्छन् । विभिन्न ठाउँबाट बेवारिसे शव बटुलेर सद्गत गरिरहेका हुन्छन् । उनको दैनिकी यसैमा बितिरहेको छ– बेवारिसे शव बटुल्ने अनि सद्गत गर्ने ।

प्रत्येक शव सद्गत गर्दा ८ देखि १२ हजारसम्म लाग्ने उनी बताउँछन् । तर पनि उनी यो काम निरन्तर गरिरहेका छन् । आखिर आर्थिक लाभ नहुने, उल्टै आफ्नै खर्च हुने तथा अरुले घिन मान्ने यस्तो काम किन गर्छन् त उनी ? किनकि, यही कामले उनलाई खुसी दिएको छ, सन्तुष्टि दिएको छ ।

बस्नेत भन्छन्, ‘अस्पतालका बेवारिसे शवहरू कुहिएर गन्हाइराखेका हुन्छन् । लासको हात तान्यो हातै आउँछ, खुट्टा तान्यो खुट्टै आउँछ । टाउको तान्यो टाउकै गिलिक्क भासिन्छ । तर पनि मलाई घिन भन्ने केही लाग्दैन । लासको माया लागेर आउँछ ।’

Image may contain: 2 people, including Binaya Jung Basnet, people standing and outdoor

सुरुमा एक्लै थालेको यो काममा अहिले प्रहरी र अस्पतालहरूको पनि सहयोग छ । उनीहरूको सहयोगमा विभिन्न ठाउँबाट जम्मा गरी यस्ता लाशको सद्गत गर्दै आएका छन् । अहिले तीन प्रकारका बेवारिसे शवहरूको अभिभावक बन्दै आएको उनी बताउँछन् । यसैमा उनी खुसी छन् । उनी भन्छन्, ‘यही काममा मन बस्यो, यसैमा खुसी लाग्छ । मनमा शान्ति हुन्छ ।’

आगामी दिनमा पनि उनको जीवनको कर्म यही हुनेछ । ‘मलाई शवको माया लाग्छ । विभिन्न अस्पतालहरूमा बेवारिसे शवको थुप्रो देख्दा कतिबेला पशुपतिमा लगेर अन्तिम संस्कार गर्न पाउँला भन्ने आतुरी भइरहन्छ,’ उनी भन्छन्, ‘जब शवहरूलाई पशुपतिमा लगेर अन्तिम संस्कार गर्छु, तब मात्र मेरो मनमा आनन्द आउँछ । खुसी लाग्छ । बल्ल उनीहरूको आत्माले पनि शान्ति पायो भन्ने लागेर आउँछ ।’ उनी अगाडि थप्छन्, ‘अन्तिम सद्गत गरेपछि त्यो दिवंगत आत्मा पनि स्वर्गमा भए पनि नर्कमा भए पनि मेरै बाबुआमाको साथी भयो भन्ने लाग्छ । अनि फेरि आनन्द आउँछ ।’

बस्नेत भन्छन्, ‘अस्पतालका बेवारिसे शवहरू कुहिएर गन्हाइराखेका हुन्छन् । लासको हात तान्यो हातै आउँछ, खुट्टा तान्यो खुट्टै आउँछ । टाउको तान्यो टाउकै गिलिक्क भासिन्छ । तर पनि मलाई घिन भन्ने केही लाग्दैन । लासको माया लागेर आउँछ ।’

किन लागे यो पेसामा ?

जागिरे पिताजीको लास बेवारिसे लासहरूको थुप्रोमा भेटे लगत्तै उनको दिमाग हल्लियो, आखिर जीवन भन्नु केही रहेनछ । जो–कोही मान्छे, चाहे जतिसुकै सम्पन्न भए पनि एक दिन बित्ने नै छ । थाहा छैन को मान्छे कतिखेर बित्छ र कसरी बित्छ ? उनलाई आफ्नै बुबाको मृत्युको घटनाले यस कर्ममा लाग्न प्रेरणा दियो । अन्य बेवारिसे शवहरूको पनि आफ्नो बुबाको जस्तै हालत नहोस् भनेर यो काम अँगालेको उनी बताउँछन् ।

बेवारिसे शवको अन्त्येष्टि गरिरहँदा आफ्ना स्व. आमाबुबालाई सम्झने गरेको उनी बताउँछन् । यस कामले उनको बुबाको आत्माले शान्ति पाउनेमा उनी विश्वास गर्छन् ।

उनी आफ्नो बुबालाई सम्झिँदै भन्छन्, ‘मेरो बुबाको शवलाई पनि नभेटाएको भए कतै फोहोरको गाडी आउँथ्यो होला, अनि कतै लगेर फोहोरकै डङ्गुरमा फालिदिन्थ्यो होला । यता सानो खाल्डो खनेर धेरै शवहरूसँगै गाड्थ्यो होला । कहाँ के हुन्थ्यो अत्तोपत्तो हुँदैनथियो । धन्न हामीले चाहिँ बुबाको शव बेलैमा भेटायौं ।’

बुबाको अन्तिम संस्कार गर्न पाएकोमा उनी औधी खुसी भएको बताउँछन् । यसै कारण निःस्वार्थ भावले सामाजिक सत्कर्ममा होमिएका व्यक्ति हुन् उनी । १५ वर्षको उमेरैमा आमा गुमाउनु, बुवाको बेवारिसे ढंगबाट मृत्यु हुनु र जीवनसंगिनीले छाडेर जानु । त्यसयता उनी नितान्त एक्लो र रित्तो छन् । समयले उनलाई एक्लो बनाए पनि मन कहिल्यै एक्लो भएन । उनी भन्छन्, ‘नि जीवनमा सबैथोक खानु तर हरेस नखानु ।’ हो हरेस खाएनन् उनले, र त होमिए बेवारिसेहरूको अभिभावक हुन ।

संस्थागत रूपमै उनले यसरी लाश व्यवस्थापनको काम गरेको एक वर्ष भएको छ । अहिले उनी बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष छन । संस्था स्थापना गर्नुको प्रमुख उद्देश्य भनेको कोही पनि मान्छे बेवारिसे भएर बित्नु नपरोस्, बाँच्न नपरोस् भन्ने हो ।

 

आर्थिक समस्या

सुरु–सुरुमा यो पेशामा लाग्दा उनलाई गाह्रो भएको थियो । ४४ वटा लासको सद्गत गर्दा पनि कसैको सहयोग गरेको थिएन । कुलतमा फसेकोलाई कसले पो साथ दिन्थे र ? उनले आफ्नो भागमा रहेको पैतृक सम्पत्ति फाइनान्समा धितो राखेर ऋण लिएर बेवरिसे शवको सद्गत गरेका छन् ।

एकै पटक १३ वटासम्म शवको सद्गत गरेको अनुभव छ बस्नेतको । बेवारिसे शवको सद्गत गर्नकै लागि दुईपटक सहकारीमा आफ्नो जग्गा धितो राखी पाँच लाख ऋण लिएर सद्गत गरेको उनी बताउँछन् । कतिसम्म भने वीर अस्पतालमा रहेको एक बेवारिसेको उपचारका लागि संस्थाका सक्रिय सदस्य पवित्रा लामाले आफूले लगाइरहेको सुनको सिक्री समेत धरौटीमा राखेर उपचार गरेको वीर अस्पतालमा कर्मचारीहरूले नै बिर्सिएका छैनन् ।

अहिले त उनलाई सहयोग गर्नेहरू धेरै छन् । देश–विदेशबाट उनलाई सहयोग गर्छु भनेर सहयोगको हात फैलाउनेहरू धेरै छन् । तर पनि उनले जो पायो त्यहीसँग सहयोग लिँदैनन् । जसले उनको मन जितेको छ उसैबाट मात्रै सहयोग लिने गरेको बताउछन् उनी ।

अस्पतालमा भर्ना गराएर उपचार गराउँदा गराउँदै मृत्यु हुनेहरूको अन्तिम संस्कार गर्ने पैसा नभएकाहरूलाई सहयोग गर्ने पनि गर्दै आएका छन् । उनी भन्छन्, ‘कतिको त उपचार गराउँदागराउँदै पैसा सकिएका हुन्छन्, उनीहरूसँग अस्पतालमा तिर्ने पैसा त नहुनु त बेग्लै कुरा, अन्तिम संस्कार गर्ने पैसा पनि हुँदैन । उनीहरूलाई पनि सहयोग गर्दै आएको छु ।’

जीवन र मुहारमा खुसी भर्न आफू रित्तिएर पनि ऋणमा डुबेर भएर पनि उनी बेवारिसेहरूको उद्धारमा तल्लीन छन् विगत आधा दशकदेखि ।

एकै पटक १३ वटासम्म शवको सद्गत गरेको अनुभव छ बस्नेतको । बेवारिसे शवको सद्गत गर्नकै लागि दुईपटक सहकारीमा आफ्नो जग्गा धितो राखी पाँच लाख ऋण लिएर सद्गत गरेको उनी बताउँछन् । कतिसम्म भने वीर अस्पतालमा रहेको एक बेवारिसेको उपचारका लागि संस्थाका सक्रिय सदस्य पवित्रा लामाले आफूले लगाइरहेको सुनको सिक्री समेत धरौटीमा राखेर उपचार गरेको वीर अस्पतालमा कर्मचारीहरूले नै बिर्सिएका छैनन् ।

 

दर्जनौँ बेवारिसेहरूको औषधोपचार

उनले झण्डै तीन जर्दन बेवारिसेहरूको औषधोपचार गरी आफन्तको पहिचान भएकाहरूलाई घर पठाउने र नभएकाहरूलाई आफ्नै आश्रममा लागि जीवनदान दिँदै आएका छन् । बेवारिसे शव भेटेपछि शवको आफन्तहरू फेसबुक, अनलाइन र प्रहरीदेखि खोज्ने गरेका छन् । यसरी खोज्दा नभेटेपछि मात्रै बेवारिसे शवको अन्तिम संस्कार गर्ने उनी बताउँछन् ।

 

सरकारबाट न्युन सहयोग

उनलाई सरकारी निकायबाट खासै सपोर्ट भएको छैन, तर पनि उनी निरन्तर यो काम गरिरहेका छन् । पछिल्लो समय महेन्द्र पुलिस क्लबमा बेवारिसेको एउटा नियम बनेको छ । कस्तो नियम भन्दा, जुन क्षेत्रमा बेवारिसे लास भेटिन्छ । त्यो लास जुन प्रहरीले भेट्यो, सम्बन्धित प्रहरीले नै अस्पतासम्म पुर्याउने गर्दछ । र, अस्पताल बेवारिसे शव व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमा सम्पर्क गर्छ । यो नियम प्रहरीले बनाइदिएको उनी बताउँछन् । अहिले संघको नम्बर सबै प्रहरी बिटसँग भएकाले बेवारिसे शव भेटिन साथ फोन आउने उनी बताउँछन् ।

पछिल्लो समय नगरपालिकाहरूले उनलाई साथ दिन थालेको छ । महानगरपालिकाले सद्गत गर्ने पैसा नदिए पनि सक्दो सहयोग गरेको उनी बताउँछन् । उनले भने, ‘अहिलेसम्म नगरपालिकाबाट कुनै पैसा ल्याएको छुइनँ । आर्थिक रुपमा आजसम्म कुनै सहयोग पनि गरेको छैन । तर यो वर्षचाहिँ ललितपुर महानगरपालिकाले पैसा छुट्याएको छ भनेको सुनेको छु, कति छुट्याएको छ मलाई थाहा छैन ।’

 

बेवारिसे लास व्यवस्थापन गर्नु जरुरी

वातावारणीय दृष्टिकोणले समेत बेवारिसे लासहरूको सदगत गर्नु जरुरी रहेको बस्नेतको भनाई छ । अस्पतालमा यस्ता कुहिएका लासहरू रहँदा वातावरण दुषित भई रोगव्याधी बढ्ने हुँदा यस्ता लासहरूको छिट्टो भन्दा छिट्टो अन्तिम संस्कार गरिनु उचित हुन्छ । राज्यले निभाउनुपर्ने दायित्व एउटा संस्थाले पूरा गरिरहेको उनले प्रतिक्रिया दिए । अहिले सबैभन्दा बढी बेवारिसे लास त्रिवेणी शिक्षण अस्पतालमा रहेको र ती लासहरूको सद्गत समेत छिट्टै गर्ने योजना रहेको समाजसेवी बस्नेतको भनाई छ ।

परिवार र कुलत

ललितपुरमा जन्मेका बस्नेतका बाल्यकाल राम्रैसँग बितेको थियो । एउटा असल विद्यार्थी रहेका बस्न मास्टरसम्म पढेका छन् । उनी १५ वर्षको उमेर हुँदा नै उनको आमाको मृत्यु भएको थियो । आमाको मृत्युपछि घरको सम्पूर्ण जिम्मेवारी सबै आफैले सम्हालेका थिए ।

उनको जिम्मेवारी धेरै थियो, घरमा खान बनाउने, भाइबहिनीलाई स्कुल पठाउने । ‘आमाको मृत्यु हुँदा कान्छी बहिनी जम्मा तीन वर्षकी थिइन् । सबै भाइबहिनीलाई स्कुल र बुबालाई अफिस पठाउने काम मेरै थियो’, उनले भने, ‘कान्छी बहिनीलाई छिमेकीको जिम्मा लगाएर कलेज पढ्न जान्थेँ, कलेजबाट घर फर्किंदा बहिनी कहिले हिलोसँग खेलिरहेकी हुन्थी त कहिले, मकैबारीमा हुन्थी, कलेजबाट आउनेसाथ छिमेकीलाई बहिनी सोध्दा, खै अहिलेसम्म त यहीँ थिई अहिले कता गइछे’ भन्ने गरेको उनले बताए ।

उनको रमाइलो परिवार थियो । उनले अन्तरजातीय विवाह गरे । विवाह हुदाँ त उनीहरू दुवै जना खुसी थिए । किनकि उनीहरूले प्रेम विवाह गरेका थिए । तर उनको त्यो खुसी धेरै टिक्न पाएन । विवाहपछि उनी कुतलमा फस्दै गए । उनलाई र उनकी श्रीमतीलाई घरपरिवारले राम्रो नजरले हेर्न छाड्यो । घर परिवारले मात्रै होइन ससुरालीबाट पनि उनीहरूलाई नराम्रो नजरले हेर्ने गरेको उनी बताउँछन् ।

त्यसपछि उनलाई एक्लो फिल हुँदै गयो । त्यसैले मादक पदार्थ पनि धेरै पिउन थाले । पिएकै कारण उनलाई श्रीमतीले पनि छाडिन् । त्यसपछि त उनले झनै धेरै पिउन थाले । रक्सीले बेफङ्गा भएर सडकमा नै सुत्नेसम्म गरेको उनी बताउँछन् । श्रीमतीले छाडेर गए पनि धेरै माया गर्ने गरेको उनले बताए । आफूसँगै हुँदा श्रीमतीले दिएको साथ–सहयोगलाई त्यतिबेला उनले बुझ्न सकेनन् । श्रीमतीको साथ र सहयोगको आवश्यकता अहिले महसुस गरेको खुलासा गर्न हिच्किचाउँदैनन् उनी ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.