जुनी फेरेको रानीतलाउ

| 2018 Nov 28 | 06:54 am 1969

बाँके, मंसिर १२ : लामो समयदेखि बेवास्ताका कारण सुख्खा बनेको पोखरीमा टन्न उम्रिएका घाँस सरसफाइबाट यसको सम्भारको काम थालिएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाको यो शुरुआतले लथालिङ्ग बनेको रानीतलाउले जुनी फेर्ने आशा बढेको थियो । अहिले रानी तलाउले पुरै जुनी फेरेको छ ।

नगर प्रमुख डा धवलशमसेर राणा निर्वाचित भएलगत्तै रानी तलाउ जीर्णोद्धार गर्ने अहिले आएर कार्यान्वयनमा आएपछि उपमहानगरभित्रको उक्त तलाउ आकर्षक पर्यटकीय क्षेत्र बन्न पुगेको छ ।

नेपालगञ्जसँगै रानीतलाउको इतिहास गाँसिएकाले यसको छुट्टै महत्व छ । चार दशक अघिसम्म रानीतलाउको स्वरुप नै अर्को थियो । चारैतिर खुला अवस्थाको तलाउ (पोखरी) मा स्थानीयवासीले नुहाउने, धार्मिक कर्मकाण्ड गर्ने गरेका थिए । त्यसबेला आकाशे पानी जम्मा भएर पनि सफा नै हुने गरेकाले सर्वसाधारणले नुहाउन प्रयोग गर्ने गरेको जानकार बताउँछन् ।

“रानीतलाउमा चार कुनामा रहेका स्तम्भमा पौडी खेल्नेहरुले हामफाल्ने र मध्यभागमा रहेको स्तम्भमा पुगेर विश्राम गर्ने गर्दथे”, नेपालगञ्ज–८ निवासी विष्णुलाल कुमालले भने । त्यति मात्र नभई रानीतलाउको पूर्वभागमा रहेको ठूलो पिपलको रुखमा पूजाआजा गर्ने र पितृको तर्पणलगायत धार्मिक कर्म गरिँदै आएको थियो ।

होलीका बेला होली जलाउने र पूजाअर्चना गर्ने परापूर्वदेखिको परम्परा यद्यपि कायमै छ । अहिले पनि होलिका दहन रानीतलाउको पूर्वनिर्धारित स्थानमा नै गरिन्छ। रानीतलाउको मुहार फेर्ने र त्यसमा जलविहार गर्ने योजना विसं २०४९ मा निर्वाचित मेयर विजयकुमार गुप्ताको समयमा नै बनेको थियो ।

नेपालगञ्ज नगर विकास समितिको तत्कालीन अध्यक्षसमेत रहनुभएका गुप्ताले न्यूरोड निर्माण, एकलैनी बाटो विस्तार, रानीतलाउ तथा तत्कालीन महेन्द्र पार्कको ढाँचामा परिवर्तन गरी हेर्न लायक बनाउने योजना बनाए पनि आर्थिक अभाव हुनाका साथै उहाँका कार्यकाल सकिएकाले उक्त तलाउ र महेन्द्रपार्क योजनाले पूर्णता पाउन सकेको थिएन ।

विसं २०५४ मा नगर प्रमुखमा निर्वाचित धवलशमसेर राणाको पालामा रानीतलाउको मुहार फेर्नुका साथै बोटिङ गर्ने व्यवस्था गरिए पनि उहाँको कार्यकाल सकिएको र कर्मचारीबाट स्थानीय निकाय सञ्चालन हुन थालेपछि रानीतलाउ उपेक्षित बन्न पुगेको थियो ।

यसबीचमा बेलाबखत उक्त तलाउ जीर्णोद्धार गर्ने नाममा थुप्रै धनराशि छुट्याएर खर्च गरिएको देखाइए पनि त्यस अनुरुप काम हुनसकेकामा आर्थिक वर्ष २०७४÷७५ को अन्त्यमा कोषमा रहेको केही रकमले रानी तलाउको सम्भार शुरु गरिएकामा अहिले सो योजनाले पूर्णता पाएसँगै नेपालगञ्जवासी खुशी भएका छन् ।

एक्काइस वर्षदेखि जीर्ण रहेको नेपालगञ्जको त्रिभुवनचोक पूर्वमा रहेको उक्त तलाउमा डुङ्गा सञ्चालन भएसँगै भारतीय पर्यटकसमेत बढ्न थालेका वडा नं ८ का वडासदस्य विवेक उपाध्यायले बताउनुभयो । “रानीतलाउमा डुङ्गा सयर गरेर मनोरञ्जन लिने पर्यटकको शनिबार धेरै भीड हुन्छ”, उनले भने, “यहाँ घुम्ने पर्यटक खुशी भएर फर्किनुहुन्छ, यसले हामीलाई पनि रानीतलाउलाई थप व्यवस्थित गर्ने हौसला मिलेको छ ।”

स्थानीय सरकारले रानीतलाउको पुनःमर्मत गरी सञ्चालनमा ल्याएसँगै घुम्नका लागि नेपालगञ्ज आउने भारतीय पर्यटकको रोजाइमा परेको र आन्तरिक पर्यटकको पनि आकर्षण बढेको स्थानीयवासी अञ्जना चतुर्वेदीले बताए।

उनले भने, “बालबालिकाका लागि मनोरञ्जन लिने उपयुक्त स्थान बनेको छ।” नेपालगञ्जमा रानीतलाउको चर्चा सुनेर घुम्न आएको बताउँदै स्थानीय मेनुका रावतले भने, “संरक्षण नभएर जीर्ण अवस्थामा रहे पनि अहिले रानीतलाउ नेपालगञ्जकै रमाणीय ठाउँमा परिणत भएको छ।”

नेपालगञ्ज उपमहानगरको आर्थिक दृष्टिले पनि महत्वपूर्ण रहेको यस तलाउमा छ वटा प्लाष्टिकका डुङ्गा र बालबालिकाले खेल्ने सामग्री राखेर सञ्चालनमा ल्याइएको छ । रानीतलाउ बोटिङ विहार समितिले त्यहाँ प्रवेश गर्न रु पाँच र बोटिङ गर्नका लागि रु २५ टिकट मूल्य तोकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.