जीर्ण कारागारका कारण कैदीबन्दीबीच झगडा

रिपोर्ट नेपाल | 2018 Nov 29 | 09:07 am 1826

कालीकोट, मंसिर १३: जिल्लाको कारागार जीर्ण भएपछि कैदीबन्दी समस्यामा परेका छन्। कारागारप्रमुख दलबहादुर बुढाका अनुसार कारागार जीर्ण भएपछि कैदीबन्दीबीच आन्तरिक झगडा हुनाका साथै ठाउँ अभावले गर्दा तिनका आफन्तलाई भेटघाट गर्न पनि अप्ठेरो भएको छ।

उनले भने, “अनुगमन मात्रै हुन्छ तर काम हुँदैन । विसं २०३८ मा निर्माण भएको कारागारको भौतिक संरचना नाजुक भएकाले कैदीबन्दीलाई राख्न कठिनाइ भएको हो । कारागारको पुरै पर्खाल भूकम्पले चिराचिरा परेकाले कुनै बेला पनि भत्किने हो कि भन्ने डर मानेर बस्नु परिरहेको छ।”

कारागारमा शुद्ध पिउने पानी, खेलकूद मैदान, सीप आर्जनका लागि आवश्यक सामग्रीको अभाव छ । वर्षायाममा कारागारमा पानी चुहिने भएका कारण जीर्ण भवन भत्किने सम्भावना रहेको कारागार प्रमुख बुढाको भनाइ छ।

कारागारमा १५ पुरुष र १० महिलाको क्षमता भए पनि अहिले ६७ पुरुष, सात महिला गरी ७४ कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी हँुदा झन् समस्या थपिएको छ।

कारागारभित्रै स्वस्थ्यशिविर

बुधबार जिल्ला कारागारका कैदीबन्दीलाई क्षयरोगको संक्रमण भएको भन्दै कारागारभित्रै निःशुल्क स्वाथ्यशिविर सञ्चालन गरिएको छ । खाडाचक्र नगरपालिका स्वाथ्य एकाइको आयोजना र जिल्ला अस्पतालको प्राविधिक सहयोगमा कैदीबन्दीको जाँच गरिएको उक्त वरिष्ठ अहेव कटक महत बताउछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.