जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

| 2018 Aug 10 | 12:52 pm 2521

नेपालगञ्ज, साउन २५: बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । तीन सय क्षमताको कारागारमा हाल त्यसको दोब्बर ६५८ जनालाई राखिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण सुरक्षा चुनौती पनि बढेको जेलर श्यामलाल लामिछानेले बताएका छन् ।

नेपालगञ्ज १० बाँकेमा रहेको कारागारका दुई भवन र त्यसका पर्खालहरु जीर्ण हुँदै गएका छन् । कारागारमा दैनिक कैदीको संख्या बढेसँगै कारागारबाट निस्केको फोहर भवनको हाताभित्रै फालिने र ढल निकासको पर्याप्त व्यवस्था नहुँदा वरिपरिको वातावरण एकदमै प्रदुषित र फोहर छ । जताततै फोहर भएका कारणले कैदी पनि अधिक संख्यामा बिरामी हुन थालेका छन् । फोहरकै कारण कैदीको सुरक्षामा खटिएको सुरक्षाकर्मीलाई पनि प्रभावित बनाएको छ।

प्रशासनले कारागारको चारैतिर बलिया पर्खाल नभएको, कारागार घनाबस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले कैदी सुरक्षामा चुनौती थपिएको बताएका छन् ।

सुरक्षा निकायद्वारा कारागारको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ५० जना सुरक्षाकर्मी खटिएका छन् । क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता, आधुनिक सुरक्षा प्रबन्धको अभाव र घनाबस्तीको बीचमा कारागार हुनुका कारणले सुरक्षा चुनौती बढेको हो । जेलर लामिछानेको भनाइ रहेको छ ।

यहाँका कैदीबन्दीको आचरण सुधारका लागि विसं २००० मा स्थापना गर्दासम्म आसपासका ठाउँमा कुनै बस्ती नरहेको र अहिले कारागार वरिपरि बाक्लो बस्ती स्थापीत भएका छन् । हालको कारागार सुरक्षा र क्षमताका दृष्टिकोणले उपयुक्त नभएपछि बाँकेको गनापुरमा खुल्ला कारागार निर्माणको काम शुरु गरिएको छ ।

नौवस्तामा तीन हजार कैदीबन्दी अट्नसक्ने क्षमताको क्षेत्रीय कारागार निर्माण भइरहेको छ । कारागार निर्माण भएपछि नेपालगञ्जको मानव बस्तीको बीचमा रहेको बाँके जिल्ला कारागारलाई विस्थापित गरिने जेलर लामिछानेले बताएका छन् । १० बिगाह क्षेत्रफलमा पाँच वर्षभित्र सक्नेगरी दुईवटा कारागार भवन निर्माण कार्य गर्न थालेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.