-
शंकर रिखाम मगर
उदयपुर, भदौ २ः उदयपुरको रौतामाई गाउँपालिका अन्तर्गत पर्ने वडा नम्वर ४ र ७ का दुई विद्यालयलाई जाल्पा एकीकृत विकास समाज उदयपुरले गोल परियोजना अन्तरगत भुकम्प प्रतिरोधात्मक आरसिसी २ / २ कोठे भवन उद्घाटनका साथै हस्तान्तरण गरेको छ ।

भवन उद्घाटन समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणवहादुर रायाको सभापतित्वमा सन्चालन गरिएको थियो भने प्रमुख अतिथिमा रौतामाई गाउँपालिका अध्यक्ष विरेन्द्रकुमार मगर र विशेष अतिथिमा निवर्तमान रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्रवहादुर खड्का रहेका थिए ।

अन्य अतिथिहरुमा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल प्रतिनिधि गोविन चपाइ, जाल्पा एकीकृत विकास समाज उदयपुरका अध्यक्ष पुष्पराज पोखरेल, उपाध्यक्ष केशवकुमार कार्की, कोषाध्यक्ष सुमन परियार र सदस्य हरिवहादुर वस्नेत, नेपाल पत्रकार महासङ्घ उदयपुरका अध्यक्ष भरत खड्का, नेकपा एमाले उदयपुर जिल्ला कमिटिका उप सचिव तथा व्यवसायी भरत थापा सहित छिमेकी सामुदायिक वनका प्रतिनिधि, सरोकारवाला अभिभावकहरुको उपस्थिती रहेको थियो ।

हस्तान्तरण गर्ने क्रममा समुदायको माग र आवश्यकताको आधारमा वर्गिकरण गरि दलित, अति विपन्न र आरसी बालबालिकाहरु अध्ययन गर्ने मुख्य क्षेत्र अन्तर्गत पर्ने विद्यालयलाई रौतामाई गाउँपालिकाको समन्वय तथा निर्णयको आधारमा दुर्गम क्षेत्र अन्तर्गत पर्ने वडा नम्वर ४ को सरस्वती माध्यमिक विद्यालय मालवासे र सुगम क्षेत्र अन्तर्गत पर्ने वडा नम्वर ७ को साना किसान आधारभुत विद्यालय पुवारे गरी २ विद्यालयलाई दुई दुई कोठे आरसिसी भवन जाल्पाका अध्यक्ष पुष्पराज पोखरेलद्वारा हस्तान्तरण गरिएको हो ।

हस्तान्तरणको क्रममा बालमैत्री शिक्षण सिकाइ, सुचना प्रविधि मैत्री शिक्षण सिकाइ भएको छकी छैन ? पालिकाद्वारा स्थानीय जनप्रतिनिधि लगाएत सरोकारवालाहरुले बेला बेलामा अनुगमन गर्न अति आवस्यक देखिएको जाल्पाका अध्यक्ष पोखरेलले औल्याएका छन् ।

समुदायको मागमा अधारित सुचना तथा संचार प्रविधि मार्फत आइसिटी कक्षा सन्चालन आवश्यकता देखिएकोले ताइवानका बाललबालिकाहरुले विद्यालय जादा अविभावकले पठाएको खाजा खर्च बापतको खर्च आधा रकम बचाइ नेपालका दर्ता भएका आरसी बालबालिकाहरुको सुन्दर र उज्ज्वल भविष्य निर्माणको लागि रकम भेला पारेर प्रेम स्वरुप पठाइएको वर्ल्ड भिजन प्रतिनिधि चपाइले बताए ।
त्यसैले विद्यालय जति सुन्दर र गुणस्तर देखिन्छ, त्यसैगरि शैक्षिक क्षेत्र तर्फ पनि पठन पाठनमा सुधार हुँदै गुणस्तरिय शिक्षामा अग्रता देखिनु जरुरी देखिएको र उक्त संरचना संरक्षण हुनुपर्ने पनि प्रतिनिधि चपाइले बताए ।
समारोहको अवसर पारेर आयोजक साना किसान आधारभुत विद्यालय पुवारेले विद्यालयलाई जग्गा दान गर्ने दुर्गवहादुर थापा र स्वर्गीय बलवहादुर सार्किको श्रीमती दैया सार्की तथा विद्यालयलाई विभिन्न अप्ठ्यारा परिस्थितिमा नगद दिएर सहयोग गरेका डुम्रीथुम्का सामुदायिक वनकी अध्यक्ष चोककुमारी मगर (मनिता) र पूर्व अध्यक्ष कुमारी आले गरी ४ जनालाई प्रमुख अतिथि, विशेष अतिथिहरुले दोसल्ला र अविरद्वारा सम्मान गरिएको थियो ।

उक्त विद्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै रौतामाई गाउँपालिकाका अध्यक्ष विरेन्द्रकुमार मगरले भवन निर्माण र आइसिटी कक्षा संचालनले मात्र सन्तुष्ट हुदैन किनकी भौतिक पक्षमात्र होइन विद्यालयमा अध्ययन गरिने बालबालिकाको भविष्य सुधार ल्याउनुनै शिक्षाको गुणस्तरीय भएको बताए । त्यसैगरी जिम्मेवारी पक्षहरु स्थानीय पालिका देखि विद्यार्थी, शिक्षक, अभिभावक, विव्यास रहेको बताए । गुणस्तरीय शिक्षा बनाउन सर्वपक्षिय सहमती हुन पनि जरुरी देखिएको पालिका अध्यक्ष मगरले बताए । रौतामाई गाउँपालिकामा काम गर्ने संघ संस्थाहरुलाई धन्यवाद दिएर मात्रै नपुग्ने भएकाले रौतामाई ॠणि र आभारी रहेको पनि उनले बताए । रौतामाई गाउँपालिका विजेता जनप्रतिनिधिहरुको मात्र होइन उपविजेता प्रतिनिधिहरुको पनि हो त्यसैले हातेमालो गर्दै योजनाका कामहरु गरेमा सफल हुने पालिका अध्यक्ष मगरले बताए ।

स्थानीय डुम्रीथुम्का सामुदायी वनले शिक्षक, भवन मर्मत देखि अन्य व्यवस्थापनको निम्ति हालसम्म लगभग १२ लाख रुपैयाँ भन्दा वढी रकम सहयोग स्वरुप नगद उपलब्ध गराई सकेको सामुदायिक वनका पूर्व अध्यक्ष कुमारी आलेले बताइन् ।

सरस्वती मावि रौतामाई ४ मालवासे विद्यालयको भवन निर्माणमा ४२ लाख ६ हजार ४९४ रुपैयाँ,
कप्युटर सेट तथा सोलार र अन्य व्यवस्थापनमा १२ लाख ५२ हजार ६१० रुपैयाँ गरि जम्मा ५४ लाख ५९ हजार १०४ रुपैयाँ खर्च भएको र रौतामाई ७ को आवि पुवारेको भवन निर्माण तर्फ ३९ लाख ९३ हजार १५८ र कम्प्युटर ल्याव सहित सोलार साथै विद्यालय व्यवस्थापन अन्तर्गत १२ लाख ८४ हजार ३१० रुपैयाँ गरि जम्मा ५२ लाख ७७ हजार ४६८ रुपैयाँ गरि दुई विद्यालयलाई कुल १ करोड ७ लाख ३६ हजार ५७२ रुपैयाँ वरावरको सम्पूर्ण योजनाका कामहरु सम्पन्न गरि हस्तान्तरण गरिएको जाल्पाका गोल परियोजनाका कार्यक्रम अधिकृत कमलवहादुर कटुवाल र सव इन्जिनियर चुडामुणी मगरले जानकारि दिए ।
भवन निर्माण अन्तर्गत रौतामाई गाउँपालिकाको तर्फवाट २ वटा भवनलाई २२ लाख ७२ हजार २१३ रुपैयाँ सहभागिता जनाएको जाल्पाका अधिकृत कटुवालले बताए ।

विद्यालय व्यवस्थापन समितिवाट विद्यालयको बारेमा अलि धेरै सुचनाहरु प्रवाह गरिनु पर्ने र अभिभावकहरुले विद्यालयको रेखदेख गर्नुपर्ने भएको बताउदै अनुदानको हिसाबमा दातृ निकायले लाखौं रुपैयाको भवन सहित कम्प्युटर ल्यावको व्यवस्थापन भएको हुनाले यस विद्यालयले गर्दा रौतामाई ७ मा शहरीकरणको रुपमा नमुना बनेको देखिएकोले सवै सरोकारवालाहरुले जगेर्णा गर्न आवश्यक देखिएको रौतामाई गाउँपालिका निवर्तमान अध्यक्ष गजेन्द्रवहादुर खड्काले बताए ।
उक्त विद्यालयकाे भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमकाे संचालन साना किसान आधारभुत विद्यालय पुवारेका शिक्षक टेकराज रिखाम मगरले गरेका थिए ।