काठमाडौं, कात्तिक १७ः नेपालमा कोरोनाका कारण करिब एक हजारले ज्यान गुमाएका बेला विश्वमा १२ लाखभन्दा बढी नागरिक यसकै कारण कालको मुखमा पुगेका छन् । विश्वमा चिसो बढेसँगै कोभिडले उग्र रुप लिने संकेत देखाइसकेको छ । एकातिर मान्छे लापर्बाह बन्दै छ भने अर्कातिर संक्रमणको संख्या पनि वृद्धि भइरहेको छ ।
यसले शक्तिशालीदेखि गरिब नागरिकसम्मको कठालो समाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री बोरिस जोहन्सनदेखि विश्वका थुप्रै धनाढ्य, बुद्धिजीवी, लोकप्रिय व्यक्तिहरुलाई यसले गाँजेको थुप्रै उदाहरण दोहोरिसकेका छन् ।
विश्वभरिका नाम चलेका औषधी उत्पादक कम्पनीदेखि यस भाइरसको शुरुआत भएको मुलुक चीनसमेत यसविरुद्धको खोप विकासका लागि दिनरात कसरत गर्दै छन् । मै हुँ भन्ने विकसित, शक्तिशाली तथा धनी मुलुक र वैज्ञानिकहरुसमेत यसको स्थायी उपचार कहिलेसम्ममा विश्वबजारमा आइपुग्ने हो भनेर निश्चित भविष्यवाणी गर्न सकेका छैनन् ।
विकास कार्यका त कुरै छोडौं, मानिसहरुको नियमित दिनचर्यालगायत विद्यार्थीको भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षण संस्थाको स्थिति पनि अस्तव्यस्त रहेको छ ।
युरोपमा अहिले कोरोना भाइरसको दोस्रो चरणको संक्रमण बढिरहेको छ । यसलाई मध्यनजर राख्दै धेरै दिनदेखि फ्रान्सले रात्रिकालीन कफ्र्यु लगाउँदै आएको छ । त्यसैको अनुसरण गर्दै बेल्जियमले सोमबारदेखि लागू हुने गरी आगामी डिसेम्बरको मध्यसम्मका लागि अत्यावश्यक सामग्री बिक्री नहुने पसलहरु र अन्य वैयक्तिक सेवाप्रदायक व्यवसायहरु बन्द हुने गरी लकडाउन जारी गरेको छ । साथै अब त्यहँँ कुनै पनि सार्वजनिक स्थानमा चार जनाभन्दा बढी व्यक्ति जम्मा हुन पाउने छैनन् ।
सुपर मार्केटहरुले एकपटक एकजना गरी अत्यावश्यक दैनिक उपभोग्य र घरायसी सामान मात्र बिक्री गर्न पाउनेछन् । शरद्कालीन विद्यालय बिदाको म्याद पनि आगामी नोभेम्बर १५ सम्मका लागि लम्ब्याइएको छ ।
यसैगरी बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाको खतरालाई ध्यानमा राख्दै देशमा लकडाउन लगाउने फैसला गरेका छन् । लकडाउन नोभेम्बर ५ बाट शुरु हुने भएको छ ।
प्रधानमन्त्री जोनसनले इंग्ल्यान्डमा ४ हप्ताका लागि लकडाउन लगाइएको जानकारी दिएका छन् । यसअन्तर्गत पब, रेस्टुरेन्ट, अत्यावश्यक सामान नभएका पसल तथा अन्य सेवा सञ्चालनमाथि प्रतिबन्ध लगाइएको छ । लकडाउन नोभेम्बर ५ देखि डिसेम्बर २ सम्म रहनेछ । आगामी क्रिसमसको समय जनजीवन सामान्य बनाउने उद्देश्यले पनि यो लकडाउन गरिएको बताइएको छ ।
काठमाडौंका सिडियोदेखि मेयरसम्म पनि कोरोना संक्रमणबाट बच्न सकेनन् । दशैंपछि पुनः तिहारको तयारीका लागि देशका प्रमुख शहर र त्यसमा पनि राजधानीका तीनै शहरमा त्यतिकै चहलपहल र भिड बढ्ने निश्चितजस्तो देखिएकाले सरकार र स्थानीय प्रशासनले समयमै सुरक्षा तथा सतर्कताका उपायहरु अवलम्बन गर्ने तयारी गरेको जानकारीमा आएको छ । आर्थिक र प्राविधिक सहयोग गर्दै आएका मुलुकहरु नै धराशयी बनिरहेको वर्तमान अवस्थामा नेपाल सरकारले नीतिमा परिवर्तन ल्याउनु र व्यवहार सुधार्नु आवश्यक रहेको विज्ञहरुको धारणा छ । नेपाल समाचारपत्रबाट