जहाँ पनि पुरुष नै प्रमुख भएकाले भ्रष्टाचार बढेको हो : सांसद चाैधरी

रिपोर्ट नेपाल | 2019 Mar 08 | 03:24 pm 1584

काठमाडौँ, फागुन २४ :  राष्ट्रिय जनता पार्टीकी महामन्त्री तथा सांसद चन्दा चौधरीले पछिल्ला केही वर्षमा महिला आन्दोलनको उपलब्धि देखिए पनि पर्याप्त नभएको बताएकी छिन्र ।

महिला दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले गरेको विशेष साक्षात्कार कार्यक्रममा आरक्षण र ३३ प्रतिशतको बाध्यकारी नियमले मात्रै महिलाको सहभागिता बढेको बताइन् । चौधरीले स्थानीय निकायमा प्रमुख जति सबै पुरुष उपप्रमुखजति महिलालाई दिइएको गुनासो समेत गरिन् ।

चौधरीले पनि निर्मलाका बलात्कारीलाई सरकारले नै लुकाएको आरोप लगाइन् । “निर्मला पन्तको हत्यारा पत्ता लागिसेकेको छ । तर सरकारले लुकाएको छ । गरिब र निमुखालाई मात्रै नियम लाग्ने हो ?” चौधरीले भनिन् ।

बलात्कारीलाई फास्ट ट्रयाकबाट कारबाही गर्ने व्यवस्थासहितको कानुन बनाउनुपर्नेमा चौधरीको जोड छ ।

चौधरीले समाजमा मात्रै नभै संसद्मा पनि महिला हिंसा हुने गरेको उनले बताइन् । बजेट वितरणमा महिला सांसदलाई विभेद गरिएको उनको गुनासो थियो । चुनावकै बेला समानुपातिकतर्फ राख्ने अनि बजेट दिने बेलामा प्रत्यक्षतर्फका सांसदलाई धेरै दिने गरिएको उनको आरोप थियो ।

“संसद्मा महिलालाई शोशित बनाइयो । अब हामीलाई समानुपातिकबाट ल्याउनुपर्दैन । प्रत्यक्षमा चुनाव लड्न तयार छौँ ।” उनले भनिन् ।

उनले मिडियाले पनि महिलाको आवाजलाई कम महत्त्व दिएको आरोप लगाइन् । “हामीले बोलेका कुरा किन महत्त्वपूर्ण मानिँदैन ? पुरुष नेताले बोलेका कुरा मात्रै हाइलाइट गरिन्छ ।” उनले गुनासो गरिन् ।

चौधरीले नेपालमा भएका भ्रष्टाचारका अधिकांश घटनामा पुरुषहरू नै संलग्न रहेको आरोप लगाइन् । जुन निकायमा पनि पुरुष नै प्रमुख भएकाले भ्रष्टाचार बढेको उल्लेख गर्दै उनले महिलाको भूमिका प्रभावकारी भएको ठाउँमा भ्रष्टाचार नभएको दाबी गरिन् । आफूहरू प्रधानमन्त्री बनेर देश सञ्चालन गर्नसमेत योग्य भएको उनले बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.