जस्तापाता निर्यात वृद्धि

रिपोर्ट नेपाल | 2023 Feb 01 | 07:46 am 5009

काठमाडौँ, माघ १८ः अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादित जस्तापाताको माग बढ्दै गएको पाइएको छ । कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर नेपालमा उत्पादित जस्तापाता छिमेकी मुलुक भारत, श्रीलङ्का, रोमनियाँलगायतका देशमा निर्यात हुन थालेको व्यवसायीले बताएका छन् ।

जगदम्बा स्टिल्स कम्पनीका बिक्री प्रबन्धक रामबहादुर बम्जनले जगदम्बा स्टिल्सको सुपरसाइन र ग्याल्भा प्लसका जस्तापाताको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको बताए । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा एक अर्ब १२ करोड रुपियाँ बराबरको आठ हजार टन जस्तापाता निर्यात गरिएको जानकारी उनले दिए ।

“गत वर्ष परीक्षणका रूपमा एक सय टन निर्यात भएकामा चालू आवको छ महिनामै  आठ हजार टन जस्तापाता निर्यात गर्न सफल भयौँ,” उनले भने ।

पाकिस्थानसँगै युरोपियन मुलकका कम्बोडिया, भियतनाममा जस्तापाता पठाउने गरी थप तयारी भएको उनको भनाइ छ । सबैभन्दा धेरै जस्तापाता भारत निर्यात हुनेगर्छ ।

कम्पनीले जगदम्बा स्टिल्स जगदम्बा सुपरसाइन र जगदम्बा ग्याल्भा प्लस (प्रिमियम एल्मुनियम–जिङ्क कलर कोटेड र प्लेन सिट तथा कोइल्स्) जस्तापाता निर्यात भएको जनाएको छ ।

उत्पादनको गुणस्तर सुनिश्चित गर्न उच्च प्रविधि, उत्कृष्ट इन–क्लास निर्माण प्लान्टहरूमा निर्मित रहेको कम्पनीले जनाएको छ । कच्चा पदार्थ आयात गरी हुलास स्टिल, आरती स्टिलले पनि  तीन महिनाअघिदेखि निर्यात सुरु गरेका छन् । जस्तापाताको आन्तरिक बजारमा समेत ठूलो खपत हुनेगर्छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आवको ६ महिनामा  ६३ अर्ब ६६ करोड ६३ लाख ५८ रुपियाँ बराबरको आइरन स्टिलको कच्चा पदार्थ आयात भएको छ ।  गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.