जलविद्युत्मा बढ्यो चासो

रिपोर्ट नेपाल | 2022 Aug 14 | 07:04 am 1237

काठमाडौँ, साउन २९ः पछिल्लो समय जलविद्युत् आयोजना निर्माणका लागि निजी क्षेत्रको चासो बढेको छ । वित्तीय क्षेत्रमा तरलता अभाव र विदेशी मुद्रा सञ्चति दबाबमा परेको भए पनि लगानीकर्ता नयाँ आयोजना बनाउन अध्ययन सम्पन्न गरी निर्माण अनुमति लिन विद्युत् विकास विभागमा आवेदन दिएका हुन् ।

विभागमा २०६८ असोजदेखि परेका ६१ यस्ता आवेदनको सूची छ तर २०७९ पछि मात्रै २४ ठूला साना आयोजना निर्माणका लागि अनुमति माग गरिएको छ । विभागमा निर्माण अनुमति माग्नेमा नेपाल विद्युत् प्राधिकरणदेखि साना प्रवद्र्धकसम्म छन् । कुल पाँच हजार ७०१ मेगावाट क्षमताका आयोजना निर्माण अनुमतिको प्रतीक्षा सूचीमा छन् । यसमध्ये वैशाखयता मात्रै एक हजार १५६ मेगावाट क्षमताका आयोजनाका लागि आवेदन परेको हो ।

हालसम्म सात हजार दुई सय मेगावाटभन्दा ठूला आयोजनाले विद्युत् उत्पादन अनुमति पाइसकेको छन् । नेपालको विद्युत् भारतीय बजारमा उच्च माग देखेपछि बजार थप सुनिश्चित महसुस गर्दै प्रवद्र्धक लगानी गर्न उत्साहित भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अध्यक्ष कृष्ण आचार्यले बताए । “नेपालको बिजुली खेर जान पाउँदैन भन्ने मनोबलले लगानीकर्तामा उत्साह छ, बजार पहुँचमा एकाधिकार अन्त्य भयो भने यो उत्साह अझै बढ्छ,” उनले भने । आचार्यका अनुसार विद्युत्काे आन्तरिक र निर्यात व्यापारमा निजी क्षेत्रलाई अनुमति दिने हो भने आयोजना निर्माणमा अझै तीव्रता आउनेछ । निजी क्षेत्रले नै विद्युत् खरिद बिक्री गर्ने वातावरण बने निर्यात अझै मौलाउने अपेक्षा उहाँको छ । अहिले नेपाल विद्युत् प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्जमा खुला बजारमा ३६४ मेगावाट विद्युत् नियमित निर्यात गरिरहेको छ । यसबाहेक अन्य समझदारीका आधारमा पनि विद्युत् निर्यात भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार गत वर्षजस्तो यस पटक विद्युत् खेर जाने अवस्था आएको छैन । “उत्पादित सबै बिजुली मुलुकभित्र खपत र त्यसपछि भारत निर्यात भएकाले खेर गएको छैन । स्वदेशी खपत विस्तार र निर्यात पनि बढ्दै जाने भएकाले लामो भविष्य आकलन गरेर नयाँ आयोजना पनि थप्दै जानुपर्ने हुन्छ,” उनले भने।

यसै वर्ष आवेदन दिनेमा निजी प्रवद्र्धकका अतिरिक्त नेपाल विद्युत् प्राधिकरण, विद्युत् उत्पादन कम्पनीजस्ता सरकारी कम्पनीको पनि पनि छन् । विद्युत् उत्पादन कम्पनीले यसै वर्ष मात्रै ५३ मेगावाटको किमाथाङ्का अरुण र ५० मेगावाटको फुकोट कर्णाली आयोजना छन् । प्राधिकरणले पनि ५१ मेगावाटको चैनपुर सेती जलविद्युत् आयोजना निर्माणका लागि अनुमति मागेका छन् । आवेदन दिने निजी कम्पनीमा मन्दाकिनी हाइड्रो, सुपर घलेम्दी, युनियन हाइड्रो, बुटवल पावर कम्पनीजस्ता प्रवद्र्धक छन् ।

कतिपय ऊर्जा उद्यमी भने अहिले वित्तीय क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव र विदेशी मुद्रा सञ्चतिको अभाव बढ्दो रहेकाले नयाँ आयोजना निर्माण गर्न ठूलो सकस छ । ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले भने, “लगानीयोग्य रकम नभएर निर्माणमा प्रवेश गरेका आयोजनाले सम्झौताअनुरूप ऋण नपाएको अवस्था छ । आर्थिक अवस्था सामान्य अवस्थामा नआएसम्म नयाँ आयोजना निर्माण लैजान सकिँदैन ।” गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.