जनप्रतिनिधिहरुको सवारी सुविधाका लागि छुट्ट्याइएको बजेट जनताको सुविधामा खर्च गर्दै लिम्चुङबुङका अध्यक्षः मेजर

रिपोर्ट नेपाल | 2019 Mar 17 | 04:33 pm 2523

उदयपुर, चैत्र ३ : कतिपय स्थानमा उच्च तहको पदमा पुगेपछि आरामदायी जिन्दगी बिताउने विभिन्न किसिमका सेवा सुविधा लिन गरेको पाइन्छ । तर, त्यस्ता सोच र प्रवृत्तिको सपना नै नदेखी जनप्रतिनिधिहरुको सवारी साधनका लागि छुट्ट्याइएको बजेट जनताको सवारी साधनका लागि खर्च गर्ने निर्णय गरेको छ।

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सेवा सुविधा भन्दा जनताको सेवामा बृद्धि गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको चौँथो सभाले जनप्रतिनिधिहरुका लागि सवारी साधनका लागि ५७ लाख विनियोजन गरेको थियो। तर, शनिबार बसेको गाउँपालिकाले जनप्रतिनिधिका लागि होइन, सर्वसाधारण जनताले प्रयोग गर्न सक्ने गरी दुई वटा यात्रुबाहक बस किन्ने निर्णय पारित गरेको छ।

गाउँपालिकाका अध्यक्ष मेजर राईले भनेका छन्, ‘हामी जनताको सेवाका लागि निर्वाचित भएर आएका हौँ’ त्यसैले, जनप्रतिनिधिका लागि होइन, जनताका लागि त्यो रकम यात्रुबाहक बस किन्ने निर्णय गरयौं।

अध्यक्ष राईका अनुसार उक्त खरिद गरिने बस निर्माणाधीन गाईघाट–लिम्चुङबुङ–हलेसी सडकखण्डमा सञ्चालन हुने बतााएका छन्।

अध्यक्ष राई नेपाली सेनामा कार्यरत हुँदै तत्कालिन समयमा सशस्त्र विद्रोहमा रहेको माओवादीमा प्रवेश गरेका थिए। देशमा संकटकाल लागेपछि नेपाली सेना छाडेर माओवादी जनमुक्ति सेनामा सामेल भएका राई शान्ति प्रक्रिया सुरु भएपछि उनी वैदेशिक रोजगारीका लागि कोरिया गएका थिए।

स्थानीय स्तरमा निर्वाचन हुने भएपछि उनी कोरिया छाडेर नेपाल फर्के र तत्कालिन माओवादी केन्द्रको तर्फबाट लिम्चुङबुङ गाउँपालिकाको अध्यक्ष उम्मेदवारमा बाजी मारेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.