काठमाडौ, साउन ३१ : प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीयतहमा हुने गरेको भ्रष्टाचार, जनप्रतिनिधिले उपभोग गरेका सुविधाको विषयमा चासो व्यक्त गरेका छन् । आज गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधि मण्डलसँग सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस विषयमा चासो देखाएका हुन्।
स्थानीयतहमा अनियमितता भएको, जनताका काम जनप्रतिनिधिले सहज ढंगले नगरिदिएको गुनासो धेरै आएकोले त्यस विषयमा गम्भीर हुन जनप्रतिनिधिहरूलाई प्रधानमन्त्रीले आग्रह गरेका छन् ।
“कतिपय ठाउँमा मेयर, उपमेयर,अध्यक्ष, उपाधक्ष्यले महँगा गाडी किनेको, कतिपय वाड अध्यक्षले डोजर किनेर सडक बनाउने ठेक्काआफैं लिएका गुनासाहरू आएका छन् ” प्रधानमन्त्री ओलीले भने “तपाईँहरू जनप्रतिनिधि हो । त्यस कारण जनताले नरुचाउने काम नगर्नुहोस् । जनताले जे रुचाउँछन् त्यस काममा केन्द्रित हुनुहोस् ।” राजनीतिमा त्याग पनि महत्त्वपूर्ण भएको स्मरण गराउँदै त्यस्ता सुविधालाई अत्यावश्यक बाहेक अहिले त्याग गरेर जनताको मन जित्न प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले गाउँपालिकाका जनप्रतिनिधिलाई देश निर्माणको ठुलो जिम्मेवारी भएको बताए । गाउँपालिका दुर्गम ठाउँमा साधन स्रोतको कमी हुने भएकोले त्यहाँका जनप्रतिनिधिले धेरै चुनौतीमा काम गर्नु पर्ने बाध्यता रहेको बताए । उनले भने “जतिसुकै चुनौतिभएपनि देश निर्माणको जग भनेको तपाईँहरू नै हो । दुर्गमका बस्तीहरू, राज्यको सेवा सुविधा नपुगेका जनताहरूमा तपाईँहरूले नै सेवाप्रवाहगर्ने हो । जनताले जनप्रतिनिधिहरूलाई देश निर्माणका लागि ठुलो जिम्मेवारी दिएका समेत बताए ।
सुगम ठाउँहरू नगरपालिका र महानगरपालिकाका जनप्रतिनिधिलाई केही सहज हुने पर्ने तर गाउँपालिकाहरूमा यस्तो स्थिति नुहने प्रधानमन्त्री ओलीको भनाइ छ । “दुर्गम भएर नै गाउँपालिका भयो” प्रधानमन्त्री ओलीले भने “सुगम ठाउँ भएको भए नगरपालिका भइसकेका हुन्थे ।”
स्थानीय तहका जनप्रतिनिधिका कामबाट जनताले प्रदेश र संघीय सरकारप्रतिको पनि धारणा बनाउने भएकोले आफ्नो आचरणमा विशेष ख्याल गर्न समेत प्रधानमन्त्रीले आग्रह गरे ।