जनताको सुरक्षाका लागि सबै सुरक्षा निकाय परिचालित हुनेः मुख्यमन्त्री पोखरेल

रिपोर्ट नेपाल | 2018 Oct 03 | 01:43 pm 3163

बुटवल, असोज १७ : सुरक्षाको विषयलाई लिएर चौतर्फी आलोचना भइरहेको बेला ५ नम्बर प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले सबै तहका सुरक्षा निकायले जनताको विश्वास जितेर काम गर्नुपर्ने बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले उक्त कुरा बुधबार प्रदेश नं ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दा बताएका हुन् । उनले जनता र राष्ट्रको समृद्धिलाई स्थापित गरी शान्ति सुव्यवस्था कायम गर्न जनताको मन जित्नुपर्ने कुरामा जोड दिएका थिए । जग बलियो भए सिङ्गो घर बलियो हुने प्रसंङ्ग कोट्याउदै मुख्यमन्त्री पोखरेलले प्रदेशको सुरक्षा व्यवस्था खलबलिँदा सिङ्गो मुलुकको सुरक्षा अवस्थानै प्रभावित पार्ने भएकाले प्रदेशको सुरक्षा प्रमुख भएको बताएका थिए ।

शान्ति सुरक्षा अपराधको नियन्त्रण मात्र नभएको बताउँदै कानून विरुद्ध काम गर्ने सबैलाई कानूनको दायरामा ल्याउने माध्यम भएको उल्लेख गर्दै उनले नेपाली समाज अहिले पनि अधिकारमुखी राजनीतिमा रुमलिएको छ , तीन ठूला राजनीतिक क्रान्ति हुँदा पनि समाज बदलिन सकेन त्यसको असर प्रदेशमा पनि भएको बताए । पोखरेलले अगाडी भने अधिकार प्राप्तिका लागि संविधान भन्दा बाहिरको बाटो उपयुक्त छैन र त्यसले कसैको भलो पनि गर्दैन ।

जनताको सुरक्षाका लागि सरकारले सुरक्षाका सबै अङ्गलाई विशेष निर्देशन दिई अपराध कर्म गर्ने जो कोहीलाई पनि कानुनको कठघरामा ल्याइने पोखरेलको भनाई रहेको थियो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा भएको सुरक्षा गोष्ठीमा प्रदेश नम्बर ५ का १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रदेशका चारवटै सुरक्षा निकायका प्रमुख सहभागी रहेका थिए । उक्त गोष्ठिमा सङ्घ र प्रदेशका साझा अधिकार, शान्ति सुरक्षा सम्बन्धी कानून, प्रदेश प्रहरी तथा सुरक्षा सम्बन्धी अवधारणा माथि छलफल गरिने आयोजकले बताएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मानबहादुर विकले सङ्घीयता कार्यान्वयनको क्रममा संस्थागत रुपान्तरणको अवस्थामा शान्ति सुरक्षा दुरुस्त राख्न समन्वयात्मक वातावरण बनाउने, सुरक्षा योजना तयार गर्ने, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने र प्रदेश र स्थानीय निकायबीच समन्वय र सहजीकरणको माहोल सिर्जना गर्ने बैठकको उद्देश्य रहेको जानकारी दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.