जनताको शिर झुक्न नदिने मेयर पन्थीको प्रतिबद्धता

रिपोर्ट नेपाल | 2022 May 19 | 10:29 am 2489

गुल्मी, जेठ ५ः नेपाली कांग्रेस गुल्मीका सभापति एवं रेसुङ्गा नगरपालिकाका नवनिर्वाचित प्रमुख खिलध्वज पन्थीले आफूले रेसुङ्गाका जनताको शिर झुक्न नदिने प्रतिबद्धता जाहेर गरेका छन् ।

रेसुङ्गा नगरपालिकाका विभिन्न वडाका मतदातालाई धन्यवाद दिने क्रममा प्रमुख पन्थीले आफू चुनाव लड्दा रुख चिन्ह लिएर लडेपनि अब सबैको साझा भएको बताए ।

समुन्नत रेसुङ्गा आफ्नो सपना भएको बताउँदै नेता पन्थीले जनमुखी र युवामुखी कार्यक्रम ल्याउने बताए । आफ्नो पहिलो प्राथमिकता स्वास्थ्य र शिक्षा भएकोले विज्ञको सुझावको आधारमा गुल्मी अस्पताल र रेसुङ्गा बहुमुखी क्याम्पसलाई स्तरोन्नती गर्ने प्रतिबद्धता जनाए ।

बिहान खाए साँझ के खाने भन्ने समुदायको आर्थिक स्थिति बलियो बनाउन आफूले विशेष कार्यक्रम ल्याउने पनि पन्थीले बताएका छन् । नगरको कुर्सीमा बस्दा आफू आम जनताको प्रतिनिधि बन्ने भन्दै विगतमा जस्तो कुन पार्टीमा मत दियो भनेर सिफारिस र सेवा रोक्ने काम आफूबाट नहुने कुरा पनि नेता पन्थीले बताए ।

पाँच वर्षे आफ्नो कार्यकालमा नमुना नगरपालिका बनाउने उदघाेष गर्दै नेता पन्थीले अब गरिबीका कारण उपचार नपाएर मर्न नपर्ने पनि बताए । विभिन्न खेलाडी युवाहरुको सुझाव र सल्लाह बमोजिम खेलकुद क्षेत्रलाई पनि प्रोत्साहन गर्ने कुरा पनि उनले बताए ।

नेता पन्थीले पाँच वर्ष भित्र नगरपालिका भित्रका सबै समस्या समाधान गरी अर्को पटक मत माग्न आउँदा घरदैलो गर्न नपर्ने गरी विकास योजना गर्ने पनि प्रमुख पन्थीले बताए । आफ्नो कार्यकालमा कृषि र पर्यटनलाई मुख्य आधार बनाएर युवालाई बिदेशिने कुरालाई आफूले निरुत्साहीत पार्ने कुरा पनि बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.