जङ्गली हात्तीले थप सात घर भत्कायो

| 2021 Dec 23 | 07:56 am 1081

सिन्धुलीमाढी, पुस ८ः सिन्धुली जिल्लाको दुधौली नगरपालिका–३ कालापानीमा मङ्गलबार राति जङ्गली हात्तीले थप सातवटा घर भत्काएको छ । योसहित दुधौली नगरपालिकाको वडा नं. ११ र ३ मा गरी तीनवटा हात्तीको समूहले ३५ वटा घरमा क्षति पु-याएको छ । जङ्गली हात्तीको समूहले वडा नं. ३ को कालापानीमा सातवटा घर र भकारी भत्काई करिब ३० मुरी धान खाएर र छरेर क्षति पु-याएको उक्त वडाका वडाध्यक्ष साने धामीले जानकारी दिए ।

उनले गत बिहीबार राति वडा नं. ११ मा छिरेको हात्तीको समूहले पत्रिङ्गा, डुडेगैरीलगायतका बस्तीमा २८ वटा घर भत्काएर मङ्गलबार राति वडा नं. ३ को कालापानी छिरेर उपद्रो मच्चाउन सुरु गरेको जानकारी दिए । वडाध्यक्ष धामीका अनुसार कालापानीमा दीपलाल धामी, प्रेमलाल कुमर, रितलाल कुमर, रती धामी, दोर्जे मुक्तान, तेजनाथ अधिकारी र बालकुमारी धामीको घर र धानको भकारी भत्काई क्षति पु-याएको हो ।

अहिले पनि दुईवटा हात्ती झुँगा जङ्गलमा र अर्को एउटा हात्ती कालापानी जङ्गलमा रहेको उनले सुनाए । कालापानीका बासिन्दा तेजनाथ अधिकारीले हात्तीले आफ्नो घर भत्काइदिनुका साथै छ मुरी धान, १६ पाथी चामल र तीन मुरी मकै खाएर र छरेर नष्ट गरेको बताए । उनले भने, “बस्तीमा हात्ती छिरेको जानकारी पाएपछि रातभर सुतेका छैनौँ । आगोको धुनी बालेर जाग्राम बस्यौँ ।” दुधौली नगरपालिकामा उक्त हात्तीको समूह प्रवेशसँगै स्थानीय जनजीवन आतङ्कित बनेको उनको भनाइ छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.